चन्द्रपुर,२६ पुस ।
चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले आफ्नो कार्यकालमा आफूले सक्दो खेलकुदको विकास गर्ने बताएका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित महेन्द्र माध्यमिक विद्यालय रैया टोलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर काफ्लेले खेलकुदको विकासले नै चन्द्रपुरको नाम अगाडि बढ्ने बताएका हुन् ।
सो विद्यालयमा अध्ययनरत छात्र छात्रालाई फुटबल प्रशिक्षण गर्नका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख काफ्लेले सो कुरा बताएका हुन् । महेन्द्र माध्यमिक विद्यालय रैयाटोलमा रौतहट जिल्ला फुटबल संघले ग्रासरुट अन्तर्गत बालबालिकाहरूलाई फुटबल प्रशिक्षण दिएको थियो ।
एक हप्ते ग्रासरुट फुटबल ट्रेनिङ कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरकी उपप्रमुख जयमाला चौधरीले पनि महिला फुटबलकै कारण रौतहटले आफ्नो पहिचान बनाउँदै आएकाले खेलकुदमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताएकी हुन् ।
ग्रासरुट फुटबल कार्यक्रममा सो स्थानका बालबालिकाहरूको उल्लेख्य सहभागिता र रुचि देखेपछि रौतड जिल्ला फुटबल संघले वर्षभरि नै सो स्थानमा फुटबल प्रशिक्षणको व्यवस्था गर्ने रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामीले बताएका छन् । बुधबारबाट आयोजित सोस्थानको नियमित फुटबल प्रशिक्षणको अनुगमन गर्दै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख काफ्लेले नियमित प्रशिक्षणमा सहभागी हुने ८० जना युवा तथा युवतीका लागि नगरपालिकाले उनीहरूका लागि आवश्यक पोशाक तथा बुट तत्काल उपलब्ध गराउने घोषणा गरेका थिए ।
महेन्द्र माध्यमिक विद्यालय रैयाटोलकी प्रधानाध्यापक कमला थापाले आफ्नो विद्यालयमा पढ्ने किशोर किशोरीहरूमा फुटबलको लगाब रहेका कारण नगरपालिकाले उनीहरुलाई नियमित प्रशिक्षण गराउने प्रशिक्षकका लागि आवश्यक सहयोग उपलब्ध गराइदिन आग्रह गरेकी थिइन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर २ का निमित्त वडाध्यक्ष सञ्जीव कुशवारले पनि नियमित रूपमा फुटबल प्रशिक्षणमा सहभागी हुने फुटबल खेलाडी तथा प्रशिक्षकका लागि वडाले आगामी बजेटबाट सक्दो सहयोग गर्ने बताएका थिए । सो स्थानमा खर्क हाले चित्रबहादुर दर्लामी र चन्द्रशेखर चौधरीले नियमित फुटबल प्रशिक्षण दिने रौतहट जिल्ला फुटबल संघका अध्यक्ष दर्लामीले जानकारी दिएका छन् ।
महिला फुटबलको कारखानाको रूपमा रहेको रौतहट जिल्लामा अझै खेलाडी उत्पादन गरेर देशको नाम अझै उच्च बनाउने हिसाबले आफूहरुले ग्रामीण भेगमा खेलाडी खोज्ने उद्देश्यले सो स्थानमा नियमित रुपमा प्रशिक्षण कार्यको सुरुवात गरेको अध्यक्ष दर्लामीले जानकारी दिएका छन् । सो कार्यक्रममा रौतहट जिल्ला फुटबल सङ्घका सदस्य कर्ण लामा लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
सो स्थानका युवा युवतीमा फुटबलको लगाव देखेका कारण नियमित प्रशिक्षणका लागि रौतहट जिल्ला फुटबल संघले चासो देखाएपछि स्थानीय समेत हर्षित भएको पाँईन्छ ।








