चन्द्रपुर,१२ माघ ।
रौतहटको वनमा व्यापक रूपमा खयरका रुख फडानी भएको समाचार प्रकाशन भएपछि भएको तीन दिनपछि वन कार्यालय घटनास्थलमा पुगेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित महादेव डाँडाको राष्ट्रिय वनमा व्यापक रूपमा बहुमूल्य जातका खयरका रुख फडानी भएको समाचार तराई एक्सप्रेस दैनिकमा प्रकाशन भएपछि डिभिजन वन कार्यालय रौतहटको ध्यानाकर्षण भएको हो ।
तराई एक्सप्रेस दैनिक लगायतका सञ्चार माध्यमले सो स्थानमा बहुमूल्य जातका खयरका काँचा रुख फडानी भएको विषयमा समाचार प्रकाशन गरेको तीन दिनपछि आज डिभिजन वन कार्यालय रौतहटका कर्मचारी घटनास्थलमा पुगेका हुन् । डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्र सहितको टोली घटनास्थलमा पुगेर गाउँबाट केही फडानीमा प्रयोग भएका आरा लगायतका सामान बरामद गरेर डिभिजन वन कार्यालयमा ल्याएको वन कर्मचारीहरूले बताएका छन् । सो स्थानमा दर्जनौं काँचा बहुमूल्य जातका खयरका रुखहरू काटिएको समाचार तराई एक्सप्रेस दैनिकले प्रकाशन गरेको तीन दिनपछि वन कार्यालयका कर्मचारीहरु घटनास्थल पुगेको भन्दै स्थानीय बासिन्दाले उनीहरूको विरोध गरेका थिए । रौतहटको चुरे क्षेत्रमा अवैध रूपमा काटिने खयरबाट बुद्ध धर्मका विभिन्न अनुष्ठानमा प्रयोग हुने सामग्रीहरू निर्माण हुँदै आएको छ । यस्ता सामानहरू महँगोमा बिक्री वितरण हुने भएपछि तस्करहरूको आँखा रौतहटको चुरे क्षेत्रमा रहेका काँचा खयरमा परेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
पछिल्लो समय विभिन्न बहाना बनाउँदै वन कर्मचारीहरूले वनगस्ती नगर्ने गरेका कारण रौतहटको वनमा व्यापक हानि नोक्सानी भएको स्थानीय बासिन्दाहरुले बताएका छन् । अहिले खयर काटिएको महादेव डाँडामा तीन वर्ष पहिला समेत खयर काटेर बनाइएका डमरु लगायतका विभिन्न सामग्री इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले बरामद गरेर डिभिजन वन कार्यालय चन्द्रनिगापुरलाई बुझाएको थियो । रौतहटको वनबाट काटिएको खयरबाट बौद्ध धर्मलम्बीहरूले प्रयोग गर्ने विभिन्न सामग्री बनाएर महँगोमा बिक्री हुने गरेको जानकारहरूले बताएका छन् ।
बिहीबार खयर काटिएको स्थान महादेव डाँडा पुगेको वनगस्ती टोलीले के के सामान बरामद गर्यो भन्ने विषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्राले केही बताउन चाहेनन् ।