चन्द्रपुर,१७ माघ ।
नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनको तयारी तीव्ररुपमा भइरहेको छ । नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन्। रौतहट जिल्लाको मध्यभागमा रहेको गरुडा स्थित चिनी मिलको प्राङ्गणमा ओलीले दशौँ जिल्ला अधिवेशनको उद्घाटनका साथै भव्य समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले रौतहटका प्रचार विभाग प्रमुख रुपेश कुमार पटेलले जानकारी दिएका छन् । दशौँ जिल्ला अधिवेशनको तयारी स्वरूप भोलि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल गौर आउने भएका छन् ।
पोखरेलले भोलि जिल्ला सदरमुकाम गौरमा जिल्ला अधिवेशनका लागि विभिन्न वडाबाट प्रतिनिधि चयन भएका करिब ४०० जनालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले मधेश प्रदेश सदस्य बालविक्रम कार्कीले जानकारी दिएका छन् ।
रौतहट जिल्लाका सबै पालिकाहरूबाट प्रतिनिधि छनौट हुने काम सम्पन्न भइसकेको र प्रतिनिधि भइसकेकाहरुलाई भोलि जिल्ला सदरमुकाम गौरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा महासचिव पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए ।
हालसम्म नेकपा एमाले रौतहटको जिल्ला अध्यक्षका लागि तीनजना आकांक्षीहरू देखा परेका छन् ।
नेकपा एमाले रौतहटका प्रचार विभाग प्रमुख रुपेश कुमार पटेल, अखिलेश्वर चौधरी र सचितानन्द साह आकांक्षी रहेका छन्। नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा पदाधिकारीतर्फ निर्वाचन हुने आकलन गरिएको छ ।
जिल्ला सदस्यहरूमा सर्वसम्मतको प्रयास गरिने भएपनि पदाधिकारीतर्फ निर्वाचन हुन सक्ने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउनका लागि सम्पूर्ण काम तीव्र रुपमा अगाडि बढेको नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिएका छन् । २०८० माघ १७ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।