गरुडा,१८ माघ ।
लामो समयको विवादपछि रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यबाहक प्रमुख अम्बेया खातुन र असन्तुष्ट नेपाली कांग्रेसका वडा अध्यक्षहरु बीच सहमति भएलगत्तै नगरसभाको दिन निश्चित भएको छ । यता जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिकामा लगाईएको ताला बिगत लामो समयदेखी नखुलेका कारण सो नगरपालिकाले प्रदान गर्ने सेवा प्रभावित भएको छ ।
गरुडा नगरपालिकामा मेयर र उप मेयर बिच भएको बिवादका कारण उप मेयर पक्षधरले नगरपालिकाको कार्यालयमा ताला लगाएका कारण नगरपालिकाबाट सर्वसाधारणले पाँउने सेवा प्रभावित भएको हो ।
नगरपालिकामा मेयर खातुनको अध्यक्षतामा बसेको कार्यपालिका बोर्डको बैठकबाट दुईपक्षीय लिखित सहमति भएको हो। मेयर खातुन पक्ष र नेपाली कांग्रेसका वडा अध्यक्ष राकेश यादव लगायत पदाधिकारीको सहमतिमा आउँदो फागुन को ३ गते नगरसभा हुने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले बताएका छन् । गत असार १० गतेभित्र हुने नगरसभा हालसम्म नभएको कारण फतुवा विजयपुरका झण्डै ३५० जना शिक्षक कर्मचारीले हालसम्म तलब पाएका छैनन्। बैठकमा मेयर खातुनसँगै नेपाली कांग्रेसका असन्तुष्ट वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले बताएका छन् । फतुवा विजयपुरको मेयर गोपाल राय यादव नदीको टेन्डरको मुद्दामा अख्तियार द्वारा १५ लाख जरिवाना र ३ बर्ष कैदको फैसला गरेपछि उनी निलम्बित हुँदा उपमेयर खातुन कार्यवाहक बनेकी हुन्। उनी मेयरको जिम्मेवारि पाएपछि कांग्रेस निकट वडा अध्यक्ष तथा कार्यपालिका सदस्यबीच सहमति नभएको कारण हालसम्म नगरसभा हुनसकेको थिएन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गते उपसचिव सुरेन्द्र प्रधानलाई त्यहाँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि जनप्रतिनिधिहरुनै विभाजित भएका थिए। वडा ९ का अध्यक्ष पप्पु भन्ने राकेश राय यादवले उपसचिव प्रधान पहिलेनै कार्यरत रहि कोरोना कालमा अनियमितता गरेको आरोप लगाउँदै विरोध गर्दै आएका थिए ।
फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीको टिकटबाट मेयर गोपाल राय यादव, उपमेयर अम्बेया खातुन ,७ जना वडा अध्यक्ष निर्वाचित भएका छन । पार्टीको बिना सहमति कार्यबाहक मेयर खातुनले एकोहोरो गरेको भन्दै कांग्रेसकै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले बोर्डको बैठक बहिष्कार गर्दै आएको कारण हालसम्म नगरसभा हुन सकेको थिएन । २०८० माघ १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








