हिजो आज रौतहटका निजी विद्यालयहरूले खेल सप्ताह सुरु गरिरहेका छन्। खेलकुदको विकासमा महत्वपूर्ण योगदान रहने विद्यालय क्षेत्रमा खेलकुद गतिविधि हुनु राम्रो हो। तर यहाँका निजी विद्यालयहरूले खेलकुद सप्ताहका नाममा पनि अभिभावकबाट असुल्न नछाडेको कुरा कसैबाट लुकेको छैन। विभिन्न बहानामा अभिभावकबाट असुली गर्दै आएका यहाँका निजी विद्यालयहरूले पछिल्लो समय आएर खेल सप्ताहको नाममा समेत अभिभावकबाट असुल्ने काम छाडेका छैनन्। निजी विद्यालयहरूका लागि खेल सप्ताह यतिबेला रमाइलो गर्ने मेलाको रुपमा परिणत भइरहेको छ।निजी विद्यालयहरूले खेलकुदमा कुनै योगदान नदिए पनि उनीहरुले खेलकुदका नाममा अभिभावकबाट असुल्ने कामलाई निरन्तरता भने दिइरहेका छन् ।यहाँका निजी विद्यालयहरूले विद्यालयमा खेल शिक्षक राखेर खेलकुदको विकासमा योगदान पुर्याउने काम भने गर्न सकेका छैनन्। उनीहरूले अतिरिक्त गतिविधिका नाममा खेलकुद भन्दै अभिभावकबाट असुल्ने गरेको गुनासो विगत लामो समयदेखि बढ्दै गएको छ । यहाँका निजी विद्यालयहरूले तामझामका साथ गर्ने खेलकुद सप्ताहबाट कुनै गतिला सम्भावना बोकेका खेलाडीहरु उत्पादन गर्न नसक्नु आफैमा दुःखद कुरा हो । शिक्षासँगै खेलकुद पनि एक अभिन्न पाटो हो र खेलकुद पनि जीविकोपार्जनको माध्यम हो भन्ने कुरा निजी विद्यालयले बुझ्न नसकेका कारण उनीहरुले देखावटीका लागि मात्र खेलकुद सप्ताह गर्ने गरेको पाइन्छ । राम्रो खेल्ने एउटा विद्यार्थी राम्रो पढ्ने विद्यार्थीका रूपमा पनि परिचित हुन सक्छ भन्ने कुरालाई यहाँका निजी विद्यालयहरुले बुझ्नु आवश्यक रहेको छ। स्वस्थ शरीर हुनेको नै स्वस्थ दिमाग हुन्छ भन्ने कुरालाई मनन गर्दै यहाँका निजी विद्यालयहरूले हरेक विद्यालयमा एक जना खेल शिक्षक राखेर खेलकुदको विकासमा पनि टेवा पु¥याउनुपर्ने देखिन्छ । तर यहाँका विद्यालयहरूले त्यसो गर्न सकेका छैनन् । हरेक वर्ष आउने राष्ट्रपति रनिङसिलमा यहाँका निजी विद्यालयका खेलाडीहरूको न्यून उपस्थितिले पनि उनीहरूले गर्ने खेल सप्ताह फगत अभिभावकको आँखामा छारो हाल्नु बाहेक अरु केही हैन भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ। यहाँका निजी तथा सामुदायिक विद्यालयहरूले अध्ययनसँगै खेलकुदमा रुचि भएका विद्यार्थीको रुचिलाई ध्यानमा राखेर खेलकुदको माध्यमबाट समेत विद्यालयको नाम उच्च राख्न सक्ने गरी काम गर्नु आजको आवश्यकता हो । त्यसका लागि यहाँका पालिकाहरूले पनि ध्यान दिनु जरुरी रहेको छ ।
हाम्रो देशले अन्य माध्यमबाट केही गर्न नसके पनि पछिल्लो समय आएर खेलकुदका माध्यमबाट देशको नाम अन्तर्राष्ट्रिय स्तरमा उच्च राख्दै आएको छ । यसै कुरालाई मनन गर्दै यहाँका निजी तथा सामुदायिक विद्यालयहरूले एकजना खेल शिक्षक राखेर अध्ययनसँगै खेलकुदको विकासलाई पनि ध्यान दिनु आजको आवश्यकता हो । २०८० माघ २३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित सम्पादकिय