चन्द्रपुर,२४ माघ ।
पूर्व पश्चिम राजमार्गको चन्द्रनिगापुरको मुख्य चोकमा सवारी दुर्घटनाको खचरा बढ्दै जान थालेको छ । राजमार्गमा चल्ने यात्रुवाहक बस रोक्नासाथ बसको चारैतिर ठेलावालाहरूको भिड लाग्ने गरेका कारण सवारी दुर्घटनाको खतरा बढेको हो ।
ठेलामा चटपटे लगायतका सामान बेच्नेहरूले यात्रुवाहक बस रोक्नासाथ बसलाई चारैतिर घेरेर ठेला लगाउने गरेका छन् । बस रोक्नासाथ चारैतिर ठेला लाग्ने र यात्रु बोक्नका लागि ई रिक्साहरूको समेत बसको वरिपरि भिड लाग्ने गरेका कारण राजमार्गमा जोखिम बढ्दै गएको हो । पूर्व पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुरको मुख्य चोकमा यात्रु ओराल्नका लागि रोक्ने बसहरूको वरिपरि पाप झुम्मिने पानी बेच्ने, चटपटे बेच्ने र यात्रु लिन आउने ई रिक्साका कारण समेत जोखिम बढ्दै जान थालेको स्थानीय रिक्साचालक केदार तिमल्सिनाको भनाइ रहेको छ । यो विषयमा ट्राफिक प्रहरी र चन्द्रपुर नगरपालिकाले समयमै चासो नदिए ठूलै सवारी दुर्घटना निम्तन सक्ने रिक्साचालक तिमल्सिनाको भनाइ रहेको छ ।
सधैँ व्यस्त रहने पूर्व पश्चिम महेन्द्र राजमार्गको मुख्य चोकमा यसरी ठेलागाडा, ई रिक्सा र पानी बेच्नेहरूका कारण समस्या उत्पन्न भइरहेको भएपनि सम्बन्धित निकायले त्यसतर्फ ध्यान नदिएको स्थानीय व्यापारी विदुर घिमिरेको भनाइ रहेको छ ।
यता चन्द्रनिगापुरको मुख्य चोकमै स्थानीय होटल सञ्चालकहरूले होटलको फोहोरपानी बाहिर फाल्ने गरेका कारण बटुवाहरूलाई नाक थुनेर हिँड्नुपर्ने अवस्था आएको स्थानीय बासिन्दाले बताएका छन् । चन्द्रनिगापुरका होटल सञ्चालकहरूले होटलभित्रको फोहोरपानी रातिको समयमा मोटरका माध्यमबाट सडकमै फालिदिने गरेका छन् ।
चन्द्रपुर नगरपालिकाका कार्यपालिका सदस्य नेत्र कुशवारले यसरी फोहोरपानी सडकमा फाल्ने होटल सञ्चालक माथि अब नगरपालिकाले कारबाहीको अभियान थाले जानकारी दिएका छन् । बस लाग्नासाथ ठेला लिएर बसको चारैतिर घेर्ने ठेला सञ्चालकलाई समेत अबका दिनमा नगरपालिकाले कारबाहीको दायरामा ल्याउने कार्यपालिका सदस्य कुशवारले तराई एक्सप्रेसलाई बताए ।
विगत लामो समयदेखि होटलको फोहोरपानी पूर्वपश्चिम राजमार्गमा स्थानीय होटल सञ्चालकहरुले फाल्दै आएका छन् । २०८० माघ २४ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








