रौतहट,२ फागुन । ठेकेदारले मनलाग्दी रूपमा बागमती खोला उत्खनन गरेको भन्दै स्थानीय बासिन्दाहरूले दैनिक नगरपालिकाको कार्यालय घेराउ गर्न थालेका छन् ।
रौतहटको गढीमाई नगरपालिकामा पर्ने बागमती खोलामा ठेकेदारले मनलाग्दी उत्खनन गरेर गाउँ नै खतरामा पारेको भन्दै स्थानीय बासिन्दाहरूले दैनिक जसो गढीमाई नगरपालिकाको कार्यालय घेराउ गरिरहेका छन् ।
गढीमाई नगरपालिकाबाट बागमती नदी उत्खननका लागि अनुमति पाएको ठेकेदार कम्पनीले मनोमानी रुपमा गाउँ नै बगाउने गरी खोला उत्खनन गरेपछि स्थानीयहरु बाध्य भएर नगरपालिका घेराउ गर्न आएको बताएका छन् ।
ठेकेदार राम दुला यादवले बागमती नदीमा दुईवटा स्काइभेटरका माध्यमबाट खोला उत्खननका लागि ठेक्का पाएको भए पनि उनले ६ देखि ७ वटासम्म स्काईभेटर बागमती नदीमा प्रयोग गरिरहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
दुईवटा स्काभेटर बागमती नदीमा प्रयोग गरेर नदीजन्य वस्तु निकाल्न अनुमति पाएका राम दुलार यादवले ६ देखि ७ वटा सम्म प्रयोग गरी ठूला ठूला खाल्डा बनाएका कारण अब आउने वर्षमा बागमती नदी गाउँमै प्रवेश गर्ने भन्दै स्थानीयहरुले नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।
स्थानीयले लगातार तीन दिनदेखि नगरपालिकाको कार्यालयमा मनलाग्दी नदी उत्खनन रोक्न माग गर्दै घेराउ गरेको भएपनि नगरपालिकाले त्यसतर्फ कुनै चासो नदिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
मापदण्ड विपरीत ठूलाठूला खाडल बनाएर बागमती नदी नै गाउँतिर सोझिने गरी खोला उत्खनन गरेको भन्दै स्थानीय बासिन्दाहरुले तत्काल रोक्नका लागि माग गरेका छन् ।

ठेकेदार राम दुलार यादवले भने आफूले सबैतिर सेटिङ मिलाएर नगरपालिकाबाट ठेक्का लिएको र सेटिङमै दुईवटा स्काईभेटरको ठाउँमा सातवटा चलाएको भन्दै स्थानीयलाई धाक धम्की दिन थालेको गाउँलेहरुले गुनासो गरेका छन् ।

ठेकेदार यादवले घडीमाई नगरपालिकाको हरैया भावढी घाटमा मनलाग्दी रूपमा बागमती नदी उत्खनन गरेको स्थानीयले बताएका छन् ।

ठेकेदारको मनलाग्दी उत्खननका कारण अबको वर्षायाममा बागमती खोला आफ्नै गाउँमा पस्ने खतरा बढ्दै गएकाले आफूहरूले नगरपालिकाको ध्यानाकर्षण गराइएको गराएको हर्दियाका एक स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

नियम विपरीत उत्खनन गरेर निकालिएको नदीजन्य पदार्थ ठेकेदारले स्टोक गरेर अफ सिजनमा महँगोमा बिक्री वितरण गर्दै आएका छन् ।