रौतहट,१८ फागुन ।
रौतहट जिल्लाका बिभिन्न स्थानमा मापदण्ड विपरित संचालनमा रहेका निजी अस्पतमा नियमित अनुगमन नभएको गुनासो बढदै जान थालेको छ । यस्ता अस्पतालले सर्बसाधारणको स्वास्थ्य चेकजाँचका नाममा उनीहरुको स्वास्थ्य माथि खेलवाड गर्दै आएका छन् । जिल्लाको गरुडा नगरपालिका, गौर नगरपालिका, वृन्दावन, चन्द्रपुर लगायतका नगरपालिकाहरुमा तथा यमुनामाई, दुर्गा भगवती गाउँपालिकामा संचालनमा रहेका निजी अस्पतालहरु मापदण्ड विपरित रहेको र अनुगमन गर्नुपर्ने सर्बसाधारणले माग राखेका छन् । केही दिन अघि यमुनामाई गाउँपालिकाको शुकदेव चोकमा रहेका सगरमाथा तराई अस्पतालमा विना शैक्षिक योग्यताको नक्कली चिकित्सक पक्राउ परेका थिए ।
नेपाल सरकारकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अनुसार भौतिक पूर्वाधार सहितको वेल इक्युमेन्ट, दक्ष जनशक्ति भएपछि मात्रै नीजि क्षेत्रमा अस्पताल संचालनको लागि इजाजत दिइने गरिन्छ । तर रौतहटमा मापदण्ड विपरितनै दर्जनौ अस्पताल संचालनमा रहेका छन् । त्यती मात्रै नभई बर्षभरीको मूल्याँकन फारमको आधारमा नविकरण गर्ने स्पष्ट प्रावधान रहेको भएपनि बिना इजाजत, इजाजत लिएपनि बर्षौ देखि नविकरण नगराएको, बेड राख्ने अनुमती नलिई बेड राखेको छ, बेड राख्न अनुमती लिएपनि त्यसभन्दा धेरै बेड राखेर उपचारको आडमा गरिव असहाय विरामीहरु संग अनावश्यक रुपमा रकम लुट्दै आएको गुनासो सर्वसाधारणको छ । यसै क्रममा गरुडा नगरपालिकामा १३ वटा नीजि अस्पतालहरु संचालनमा रहेको गरुडा नगरपालिकाको स्वास्थ्य शाखाबाट बुझिएको छ । जसमा जनसेवा क्लीनिकले अस्थायी रुपमा स्वीकृति लिएर २०८० जेठ महिना र याशिम संजीविनी अस्प्ताल प्राली शिवनगरले २०८० मंसिर ६ मा नविकरण गराएको गरुडा स्वास्थ्य शाखाको रेकर्डमा देखिन्छ । याशिम संजिविनिले १५ बेडको स्वीकृति लिएको भएपनि अन्य ११ वटा नीजि अस्पतालको नविकरण भएको देखिदैनन् ।
आनन्द पोलिक्लीनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिएको देखिन्छ तर नविकरण २०७६ फागुन १३ गते सम्म मात्रै भएको उक्त रेकर्डबाट बुझिएको छ । तर आनन्द पोलिक्लीनिक एक्युपञ्चरको रेकर्डमा रहेपनि सो हस्पिटलमा पुग्दा आनन्द होस्पिटल प्राली नाम राखेर संचालन गरेको पाइएका छन् । बेड राख्ने प्रक्रिया पुरा नै नगरेर दर्जनौ बेड राखेर विरामीहरुको उपचार गरिहेको छ । यहाँ सम्मकी भुईमै राखेर विरामीको उपचार गर्ने गरेको पाइएका छन् । गाउँघरमा आफना एजेन्टहरु मार्फत पक्षाघात (लकवा) भएका विरामीहरुलाई उक्त हस्पिटलमा ल्याएर उपचार गर्ने गरिन्छ । उक्त होस्पिटलका संचालक डाक्टर भनाउने उमेश जयसवालले विगत सात बर्ष देखि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड विपरित होस्पिटल संचालन गर्दै आएपनि सम्बन्धित निकाय केही गर्न नसकेको कारण सर्वसाधारण विरामीहरु लुटिन बाध्य बनेका छन् ।