चन्द्रपुर नगरपालिकाको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
सो प्रतियोगितामा सबैभन्दा धेरै सुवर्ण पदक जित्दै जनशक्ति माध्यमिक विद्यालय गैडाटार प्रथम हुन सफल भएको छ । त्यस्तै जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगापुर दोस्रो भएको छ । आयोजक बागमती माध्यमिक विद्यालय सो प्रतियोगितामा तेस्रो स्थानमै चित्त बुझाउन बाध्य भएको छ।
कराते तेक्वान्डो एथलेटिक्स भलिबल कबड्डी खेलमा भएको प्रतिस्पर्धामा जनशक्ति माध्यमिक विद्यालय प्रथम हुन सफल भएको हो । प्रथम द्वितीय र तृतीय हुने विद्यालयका खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गर्दै समापन कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्लेले पढाइसँगै विद्यार्थीको खेलकुद रुचिलाई समेत विद्यालयले मध्यनजर गर्नुपर्ने बताए ।
समापन कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतले बागमती माध्यमिक विद्यालयले पढाइसँगै खेलकुदमा समेत विद्यार्थीको रुचि जगाउनका लागि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गरेको बताएका थिए ।
सो प्रतियोगितामा करातेतर्फ ४० केजी तौल समूहमा दुर्गा माध्यमिक विद्यालयकी छात्रा सोमिया तामाङ प्रथम भएकी छिन् । त्यस्तै ४५ केजी तौल समूहमा चन्द्रज्योति बोर्डिङ स्कुलकी कृपा तामाङ प्रथम भएकी थिइन् । ५० केजी तौल समूहमा माउन्ट एभरेस्ट बोर्डिङ स्कुलकी कविता ठाडा मगर प्रथम भइन् । ५५ केजी तौल समूहमा माउन्ट एभरेस्ट बोर्डिङ स्कुल चन्द्रनिगापुरकी अर्की छात्रा रचना पाण्डे समेत प्रथम भएकी थिइन् । छात्र ६० केजी तौल समूहमा चन्द्रज्योति बोर्डिङ स्कुल चन्द्रनिगाहपुरकी छात्रा गरिमा राईले प्रथम स्थान हासिल गरेकी थिइन् । छात्र एकल काता तर्फ मूल लाइट बोर्डिङ स्कुलकी छात्र विनिशा गुरुङ प्रथम भइन् ।
कराते खेलको छात्रातर्फ ४२ केजी तौल समूहमा जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगापुरका विवश श्रेष्ठ प्रथम भए । त्यस्तै ४७ केजी तौल समूहमा दुर्गा माध्यमिक विद्यालय चन्द्रनिगाहपुरका मगर, ४२ केजी तौल समूहमा ओम माध्यमिक विद्यालय सन्तपुरका प्रिन्स चौधरी, ४७ केजी तौल समूहमा शुभलाल भागवत माध्यमिक विद्यालय सन्तपुरका एल्जन पहाडी, ६२ केजी तौल समूहमा मूललाइट बोर्डिङ स्कुल चन्द्रनिगापुरका अनिष मगर प्रथम भएका थिए । त्यस्तै पुरुष एकल कातामा गैडाटार माध्यमिक विद्यालयका दीक्षित गुरुङले प्रथम स्थान हासिल गरेका थिए ।
त्यस्तै तेक्वान्डो खेलतर्फ ४६ केजी तौल समूहमा नमुना बोर्डिङ स्कुलकी मोनिका यादव प्रथम सोही सोही स्कुलकी ईश्वरी राई ४४ केजी तर्फ प्रथम त्यस्तै ४२ केजी तौल समूहमा रितिका सुनार, ४९ केजी तौल समूहमा आरोसा राई र बाल निकेतन बोर्डिङ स्कुलकी निष्मा तामाङले ५२ केजी तौल समूहमा प्रथम स्थान हासिल गरेको चेक्वान्डो प्रशिक्षक केशव खड्काले जानकारी दिए ।
तेक्वान्डोको छात्रातर्फ बाल्मिकेतन माध्यमिक विद्यालयका कोनिरा खड्का प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै जनजागृति माध्यमिक विद्यालयका छात्र शिविर माझी प्रथम, मूल लाइट बोर्डिङ स्कुलका दीक्षित घिमिरे प्रथम, जनज्योति माध्यमिक विद्यालयका दानी कुशवार र जनज्योतिकै करण शाहले प्रथम स्थान हासिल गरेका थिए । चन्द्रपुर नगरस्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने खेलाडीलाई चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्ले, चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।
२०८० फागुन २० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार








