रुपेन्द्र पटेल,
चन्द्रपुर,१२ बैशाख ।
चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले नगरभरिका विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई आआफ्नो विद्यालयको शैक्षिक स्तर सुधार गर्नका लागि कडा निर्देशन दिएका छन् । सोमबार नगरपालिकाको कार्यालयमा नगरभरि रहेका सामुदायिक तथा निजी विद्यालयका प्रतिनिधिहरूलाई मेयर काफ्लेले नगरको शिक्षाको स्तर उकास्ने गरी पठनपाठन गराउन निर्देशन दिएका थिए ।
चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाले लिएको कक्षा आठको परीक्षामा नगरभरिकै अधिकांश विद्यार्थी फेल भएको हल्ला चलेसँगै सोमबार नगर प्रमुख काफ्लेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुलाई बोलाएर बैठक बसालेका थिए ।
चन्द्रपुर नगर पालिकाको शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले कक्षा आठको परीक्षाफल प्रकाशनै नभई विभिन्न माध्यममा चन्द्रपुर नगरपालिकाका अधिकांश सामुदायिक विद्यालयका कक्षा ८ का विद्यार्थीहरु फेल भएको हल्ला चलेकोमा आफू आश्चर्य चकित भएको बताएका छन् । यसभन्दा पहिला विद्यालयहरूले नै कक्षा आठको परीक्षा लिने र आफै उत्तीर्ण गर्दै आएकोमा यस वर्षबाट नगरपालिकाको शिक्षा शाखाले परीक्षा केन्द्र तोकेर आधारभूत तह उत्तीर्ण परीक्षा सञ्चालन गरेको र उत्तरपुस्तिका परीक्षण नगरपालिकामा सूचीकृत विषय विज्ञबाट परीक्षण गरेका कारण यस वर्ष कक्षा आठको रिजल्ट प्रकाशनमा केही ढिलाई हुन गएको नगरप्रमुख सञ्जयकुमार काफ्लेले जानकारी दिए । कक्षा आठको परीक्षाफल बिहीबारसम्म प्रकाशनमा आउने नगरपालिकाले जनाएको छ । चन्द्रपुर नगरपालिकाले रौतहट जिल्लामै पहिलोपटक कक्षा आठको परीक्षाफल इमिसद्वारा प्रकाशन गर्ने तयारी गरिरहेको शिक्षा शाखाले जानकारी दिएको छ ।
कक्षा आठको परीक्षाफल प्रकाशनमा केही ढिलाई भएको र बजारमा हल्ला भएजस्तो कक्षा आठका अधिकांश विद्यार्थी फेल भएको भन्ने कुरा निराधार भएको चन्द्रपुर नगरपालिकाको शिक्षा शाखा प्रमुख मण्डलले जानकारी दिएका छन् ।
चन्द्रपुर नगरपालिकामा रहेका १२ वटा माध्यमिक विद्यालय ११ वटा निम्न माध्यमिक विद्यालय र १० वटा निजी विद्यालयको कक्षा ८ को रिजल्ट चन्द्रपुर नगरपालिकाले दुई दिनभित्र प्रकाशन गर्ने जनाएको छ । चन्द्रपुर नगरपालिकाले नयाँ प्रविधिमा परीक्षा सञ्चालन गरेर नयाँ अभ्यासको सुरु गरेका कारण परीक्षाफल प्रकाशनमा केही ढिलाई भएको जनाएको छ ।
चन्द्रपुर नगरपालिका भित्र रहेका निजी तथा सामुदायिक विद्यालयका गरी १५७४ जना विद्यार्थीले कक्षा आठको परीक्षा दिएका थिए । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख काफ्लेले सोमबार भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकसँगको बैठकमा निम्न माध्यमिक विद्यालयहरूले सक्ने भए मात्र कक्षा आठको सञ्चालन गर्ने र नसक्ने भए अन्य विद्यालयसँग गाभ्नका लागि निर्देशन दिएका थिए । मेयर काफ्लेले निम्न माध्यमिक विद्यालयहरूका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरूलाई कक्षा ८ सञ्चालन गर्न नसक्ने भए नगर्न र गर्ने भए राम्रोसँग पठनपाठन गराउन निर्देशन जारी गरेका थिए । २०८१ बैशाख १२ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








