चन्द्रपुर,१८ बैशाख ।
चन्द्रनिगाहपुरमा जग्गाको कारोवार गर्नेका कारण यतीबेला जग्गा किन्ने सर्बसाधारणले सास्ती खेप्नु परेको छ । सर्बसाधारणको भाषामा भन्ने हो भने चन्द्रनिगाहपुरका जग्गा दलालसंग प्लटिङ गरिएको जग्गा किन्नेहरुले यतीबेला बाध्य भएर नापी कार्यालय र मालपोत कार्यालयका कर्मचारीलाई घुस खुवाउन बाध्य भएकाछन् ।
चन्द्रनिगाहपुर स्थित कृषि विकास बैंक भन्दा केही परबाट पुर्व तर्फ जाने प्लटिङको जग्गा किनेर करिव ५ –६ बर्ष पहिला घर बनाएर बसेकाहरु यतीबेला नापी र मालपोत कार्यालय धाउन बाध्य भएकाछन् । सो स्थानमा प्लटिङ गरिएको जग्गामा सरकारी बाटो कायम नभएका कारण सो स्थानमा घर बनाउनेहरुले घरलौरी पैसा उठाएर चन्द्रनिगाहपुरमा रहेको नापी तथा मालपोत कार्यालयमा २० हजार घुस दिन बाध्य भएका छन् ।
जग्गा दलालहरुले हामीले प्लटिङ गरेको सबै ठाँउमा बाटो कायम गरेका छैनौ,तपाईहरु आफै नापी तथा मालपोतमा गएर सरकारी बाटो कायम गराउनुहोस भनेपछि सो टोलका स्थानीय समस्यामा परेका थिए । सरकारी बाटो कायम नभएका कारण सो प्लटिङमा जग्गा किन्नेहरुले बैंकबाट लोन लिन तथा अर्को मान्छेलाई घर जग्गा बेच्न समस्या भएको थियो ।
सो स्थानको प्लटिङ गरिएको जग्गामा बाटो कायम गर्नका लागि टोलका मान्छेले पैसा उठाएर नापी तथा मालपोत कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीलाई बिस हजार बुझाएर बाटो कायम गरेका थिए । नापी तथा मालपोत कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीले जग्गा दलालको सेटिङमा वडा अध्यक्ष लगाएतको बैठक गर्नुपर्ने र त्यसमा उपस्थितलाई बैठक भत्ता दिनुपर्ने भन्दै घुस मागेका थिए ।
चन्द्रनिगाहपुर क्षेत्रमा प्लटिङ गरिएको अधिकांस जग्गामा बेच्नका लागि मात्र जग्गा दलालहरुले बाटो नक्समा देखाउने गरेको र सरकारी काम काजमा सो जग्गामा बाटो नहुने गरेका कारण समस्या श्रृजना हुदै आएको छ । जग्गा दलालले यती गरेपछि अव पैसा कमाउने बाटो नापी र मालपोत कर्मचारीको खुल्ने गरेको छ ।
उनीहरुले समेत स्थानीय लेखापढि व्यावसायी मार्फत पैसा माग्ने गरेकाछन् । पछिल्लो समय आएर यस्तो समस्याले बिकराल रुप लिदै जान थालेको छ ।
पछिल्लो समय घरजग्गा कारोबारमा मन्दी आएसँगै ठण्डाएर बसेका नापी कार्यालय चन्द्रनिगापुर र मालपोत कार्यालय चन्द्रनिगापुरका कर्मचारीहरूले सर्वसाधारणसँग सरकारी बाटो कायम गराउने बहानामा मोटो रकम असुल्ने गरेका छन् ।
सर्वसाधारणलाई यसरी फसाउने जग्गा दलालदेखि सरकारी कर्मचारी सम्मका कारण यतिबेला नापी कार्यालय चन्द्रनिगापुर र मालपोत कार्यालय चन्द्रनिगापुर बदनाम हुँदै आएको छ ।
घर जग्गाको बाटो कायम नभएसम्म बैंकले लोन नदिने र बिक्री वितरण समेत हुने नभएपछि सर्वसाधारण आफैले पैसा उठाएर नापी तथा मालपोत कार्यालयमा मोटो रकम दिएर सरकारी बाटो कायम गराउन बाध्य भएका छन् ।
२०८१ बैशाख १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








