चन्द्रपुर,१४ असार । अवैध मानिएको यौन व्यवसायमा संलग्न रहेको भन्दै प्रहरीले चन्द्रनिगापुरबाट ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनजना महिला र तीनजना पुरुष रहेका छन् । चन्द्रनिगापुरमा रहेका होटलहरूमा यौन व्यवसाय हुने गरेको गुनासो व्यापक रूपमा बढेपछि प्रहरीले ती होटलहरूमा खान तलासी तीव्र पारेको हो ।
प्रहरीले बिहीबार दिउँसो चन्द्रनिगापुर बजारमा रहेको दुइ होटलबाट छ जनालाई पक्राउ गरेको हो । चन्द्रनिगाहपुर बजारमा रहेको कबाडी पसल छेउको राजघराना कटिया पसलमा अवैध रूपमा यौनधन्दा हुने गरेको गुनासो आएपछि प्रहरीले त्यहाँबाट चार जनालाई पक्राउ गरेको थियो । यस्तै चन्द्रनिगापुरको मुख्य चोकमा रहेको शवनम होटलबाट एकजना युवती र एकजना होटल सञ्चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी गौरव महतले जानकारी दिएका छन् । पछिल्लो समय देशका विभिन्न स्थानबाट चन्द्रनिगापुरमा आएर यौन व्यवसाय गर्नेहरूको संख्या बढ्दै जान थालेको गुनासो आएपछि प्रहरीले आफ्नो सक्रियता बढाएको डीएसपी महतको भनाइ रहेको छ । आर्थिक मन्दीका कारण व्यापार व्यवसाय चौपट हुँदै जान थालेपछि चन्द्रनिगापुरमा रहेका साना तथा ठूला होटलहरुले अवैध रुपमा यौनधन्दा गराउने गरेको गुनासो तीव्र रुपमा बढेको छ ।
पछिल्लो समय आएर चन्द्रनिगापुरका ठूला होटल सञ्चालकहरूले समेत कन्ट्याक्टमा युवतीहरू बोलाउने गरेको गुनासो बढेको छ । प्रहरीको आँखा साना होटलतिर गएको बेला ठूला होटल सञ्चालकहरूले पनि भित्री रूपमा यौन व्यवसायलाई बढावा दिँदै आएको गुनासो आएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले पछिल्लो समय अवैध रूपमा हुने यौन व्यवसाय रोक्नका लागि विभिन्न अभियान नै चलाएको छ । रौतहट जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको चन्द्रनिगाहपुर बजारमा पछिल्लो समय देशका विभिन्न स्थानबाट युवतीहरू र महिलाहरू आएर यौन व्यवसाय गर्दै आफ्नो गुजारा चलाउँदै आएको पाइन्छ । पछिल्लो समय चन्द्रनिगाहपुरको जुडीबेला टेम्पु पार्कको पछाडि यौन व्यवसायी महिलाहरूको भीड नै लाग्ने गरेको गुनासो स्थानीय बासिन्दाले गर्दै आएका छन् । प्रहरीको सक्रियता पछि यौनधन्दा गराउनेहरुको बिचल्ली हुदै जान थालेको छ ।