गौर,८ साउन । रौतहटको एक सरकारी कार्यालयका प्रमुखले रामधुलाई खाएको घटना दुई हप्तापछि सार्वजनिक भएको छ । राम धुलाई गर्ने मान्छे नै मधेस प्रदेश सरकारको मन्त्री बनिसकेपछि एकाएक सामाजिक सञ्जाल मार्फत यो कुरा बाहिर आएको हो । सर्वसाधारणले पाउनुपर्ने सिँचाइको नाममा सिन्को समेत नभाच्ने सदरमुकाम गौरमा रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गौर रौतहटका कार्यालय प्रमुखले गत असार २४ गते रामधुलाई भेटेको कुरा यतिबेला आएर सामाजिक सञ्जालमा छाताछुल्ल भएको छ ।
४० लाखको योजनाको काम सम्पन्न भइसकेपछि भुक्तानीका लागि सो कार्यालयमा पुगेका अहिलेका मधेस प्रदेशका अर्थमन्त्री जितेन्द्र यादवले पुरै काम सम्पन्न भइसकेकोले आफ्नो ४० लाख भुक्तानीको माग गरेका थिए । तर कार्यालय प्रमुख सूर्यनारायणलाल कर्णले हाललाई १५ लाख मात्र भुक्तानी दिने बताएपछि नेपाली कांग्रेस रौतहटका सभापति समेत रहेका मधेस प्रदेशका अर्थमन्त्री जितेन्द्र यादव उर्फ सुनिल सहितको समूहले यादवलाई कार्यालयभित्रै कुटपिट गरेको थियो । सरकारी अखडाको चेक काट्ने अन्तिम दिन असार २४ गते भुक्तानीका लागि मन्त्री यादव सहित गएको उपभोक्ता समितिलाई कार्यालय प्रमुख कर्ण माथि कुटपिट गरेको कुरा यतिबेला सामाजिक सञ्जालमा छाताछुल्ल भएको छ ।
मन्त्री यादव सहितको उपभोक्ता समितिले लाठी लाठीले कार्यालयभित्रै कर्णलाई हानेपछि उनले बल्ल लेखापाललाई ४० लाखकै चेक बनाउन आदेश दिएको भन्दै यतिबेला रौतहटमा त्यसको व्यापक चर्चा भएको छ । कुट्नेले त कुटेरै ४० लाख भुक्तानी लिए तर कुटाई खाने किन मौन भएर बसे भन्दै यतिबेला सामाजिक सञ्जालमा सो घटनाको व्यापक चर्चा भइरहेको छ ।
सो कार्यालयले उपभोक्ता समिति मार्फत काम लगाउने र कमिसन नदिए चेक नै नकाटी सर्वसाधारणलाई दुःख दिने गरेको थाहा पाएपछि तत्कालीन समयमा रौतहटका प्रदेश सांसद तथा नेपाली कांग्रेसको रौतहट जिल्ला सभापति समेत रहेका यादव उपभोक्ता समितिसँगै सो कार्यालयमा पुगेका थिए । यादव यतिबेला मधेस प्रदेश सरकारको अर्थमन्त्री रहेका छन् । सो विषयमा बुझ्नका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रौतहटका प्रमुख कर्ण तथा मधेश प्रदेश सरकारका अर्थमन्त्री यादवसँग बुझ्न खोज्दा दुवैजना सम्पर्कमा आएनन् । उनीहरू सो विषयमा सम्पर्कमा आउन नचाहे पनि सामाजिक सञ्जालमा भने यतिबेला असार २४ गतेको सो घटनाले खुबै चर्चा पाएको छ ।