रुपेन्द्र पटेल

रौतहट, १८ साउन । वृन्दावन नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा एक हप्तादेखि ताला लाग्दा सर्वसाधारण समस्यामा परेका छन्। जन्मदर्ता, मृत्युदर्ता, सिफारिस लगायतका सेवा अवरुद्ध भएका छन् । ताला लाग्नुको कारण गत वर्षको दुर्गा पूजामा नगर प्रमुख बिनोदप्रसाद कुर्मीले सकार गरेको पाँच लाख रुपैयाँ भुक्तानी नदिएको मेला समितिका सचिव अविन्द्र पटेलले बताए । यसअघि पनि वडामा ताला लागेको थियो, तर असार मसान्तमा रकम निकासा गरिदिने सहमतिपछि ताला खोलिएको थियो। असार मसान्त बितिसक्दा पनि भुक्तानी नहुँदा फेरि ताला लगाइएको हो। वडाध्यक्ष रामनाथ सहनीले आफूले रकम सकार नगरेको र नगर प्रमुख बिनोदप्रसाद कुर्मीले रकम दिने वाचा गरेको बताए । नगर प्रमुख कुर्मीलाई पटकपटक आग्रह गर्दा पनि सुनवाई नभएको उनले जनाए । नगर प्रमुख कुर्मीले रकम भुक्तानी नगरेको भन्दै स्थानीय नेता कार्यकर्ताहरू समेत असन्तुष्ट छन्। नगर प्रमुख कुर्मीकै रवैयाका कारण वडा नम्बर १ मा विवाद उत्पन्न भएको छ। मेला समितिका सचिव अमिन्द्र पटेलले रकम नआएसम्म ताला नखुल्ने बताए। नगर प्रमुख कुर्मीसँग सम्पर्क गर्दा उनको फोन उठेन, जसले गर्दा विवाद समाधानको लागि कुनै ठोस कदम अगाडि बढ्न सकेको छैन । वडा कार्यालयमा ताला लाग्दा सर्वसाधारणले भोग्नु परेको असुविधा र समस्याले यस विवादलाई थप गम्भीर बनाएको छ। यो विवाद चाँडो समाधान गरिनु पर्ने स्थानीयवासीको माग रहेको छ।