रौतहट,१९ साउन । डिभिजन वन कार्यालय रौतहटमा कार्यरत रहेका सहायक वन अधिकृत अनिल कुमार महतो बेपत्ता भएका छन् ।
रौतहट जिल्लाको वृन्दावन सब वन डिभिजन कार्यालय र जुडीबेला सब डिभिजन वन कार्यालयमा कार्यरत रहेका महतो गत साउन ११ गतेदेखि कार्यालयमा नरहेको पाइएको छ । उनीसँगै डिभिजन वन कार्यालय रौतहटको विकास फाँटमा कार्यरत रहेकी सहायक वन अधिकृत महालक्ष्मी शर्मासमेत बेपत्ता भएकी छिन् ।
आफू कार्यरत सब डिभिजन वन कार्यालयमा विगत लामो समयदेखि उपस्थित नरहेका महतो कार्यालय छोडेर एक हप्ता बढीदेखि सम्पर्कविहीन बसेका हुन् ।
मधेस प्रदेशकी वनमन्त्री रन्जु कुमारी मण्डलले डिभिजन वन कार्यालय रौतहटको अनुगमन गर्ने क्रममा सहायक वन अधिकृत महतो र उनकी श्रीमती शर्मा एक हप्तादेखि कार्यालयमा उपस्थित नरहेको पाएकी हुन् ।
मधेस प्रदेशकी वनमन्त्री स्वयंले डिभिजन वन कार्यालय रौतहटको अनुगमन गर्ने क्रममा महतो र उनकी श्रीमती कार्यालयमा उपस्थित नभएपछि डिभिजन वन कार्यालय रौतहटले उनीमाथि एक्सन लिएको छ ।
डिभिजन वन कार्यालय रौतहटले महतो र उनकी श्रीमतीलाई स्पष्टीकरण सोधेको छ । महत्व कार्यालयमा उपस्थित नभएको बेलामा वृन्दावन सब वन डिभिजन कार्यालय क्षेत्रमा भएको काठ चोरी तस्करीको जिम्मा कसले लिने ? तपाईंले कि अरुले भन्दै डिभिजन वन कार्यालय रौतहटले महत्वलाई स्पष्टीकरण सोधेको छ ।
साउन ११ गतेदेखिको दुवै जनाको हाजिरीमा डिभिजन वन कार्यालयले रातो मसी लगाएको छ । मन्त्री मण्डलको ठाडो निर्देशनमा डिभिजन वन कार्यालय रौतहटले श्रीमान श्रीमतीको हाजिरी कपीमा रातो मसी लगाएको हो ।
मन्त्री स्वयंले गैर जिम्मेवार सहायक वन अधिकृत श्रीमान श्रीमतीको विषयमा चासो लिएपछि बाध्य भएर डिभिजन वन कार्यालयले स्पष्टीकरण सोधेको कर्मचारी स्रोतले बताएको छ । श्रीमान श्रीमती नै विगत एक हप्तादेखि कार्यालयमा कुनै जानकारी नदिई बेपत्ता भएको कर्मचारी स्रोतको भनाइ रहेको छ । सहायक वन अधिकृत अनिल कुमार महतोले डिभिजन वन कार्यालय अन्तर्गतको वृन्दावन वनको जिम्मेवारी पाएदेखि उनी सो कार्यालयमा नियमित रुपमा नगएको कर्मचारीहरूले बताएका छन् । विभिन्न बहाना बनाउँदै उनी वृन्दावनको वन क्षेत्रमा नगएका कारण सो क्षेत्रमा कार्यरत वन कर्मचारीले समेत विभिन्न बहाना बनाउँदै गस्ती गर्न छोडेपछि सो क्षेत्रमा दैनिक रुपमा काँचो सालको गोलियाको चोरी तस्करी बढेको स्थानीय बासिन्दाले बताएका छन् ।
सहायक वन अधिकृत महतोले नियमित रूपमा काम नगरेको भन्दै प्रदेश वन मन्त्रालयमा उजुरी परेपछि मन्त्री स्वयं आउँदा समेत उनी कार्यरत कार्यालयमा फेला नपरेपछि उनीमाथि एक्सन लिएको हो ।
सहायक वन अधिकृत महतोले डिभिजन वन कार्यालय रौतहटमा आफूभन्दा माथिल्लो कर्मचारीको समेत कुरा नसुन्ने र मनोमानी रुपमा काम गर्ने गरेका कारण उनको क्षेत्रमा व्यापक रुपमा चोरी तस्करी बढेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । मन्त्रीको ठाडो निर्देशन पछि डिभिजन वन कार्यालय रौतहटले सहायक वन अधिकृत महतोलाई बलेरी र जुडीबेलाबाट हटाउने तयारी गरिरहेको कर्मचारी स्रोतले जानकारी दिएको छ । महतोले आफू पावरवाला भएको र आफूलाई कसैले कारबाही गर्न नसक्ने भन्दै कार्यालय नै छोडेर बेपत्ता हुने गरेपछि मन्त्री स्वयं आएर उनीमाथि कारबाही गर्न डिभिजन वन कार्यालय रौतहटलाई दबाब दिएको बुझिएको छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले लामो समय देखी कार्यालयको सम्पर्कमा नरहेका श्रीमान श्रीमती माथि बिभागिय कार्वाहीको समेत सिफारिस हुने बताएकाछन् ।