बृन्दावन,१९ भदौ । रौतहटको वृन्दावन नगरपालिकामा उपमेयर संगीतादेवी रामले हालसालै नगरप्रमुख विनोदप्रसाद कुर्मीसँग मिलेर आर्थिक लाभ लिएको आरोप लाग्न थालेको छ ।
केही समयअघिसम्म नगरप्रमुख कुर्मीप्रति असन्तुष्टि व्यक्त गर्दै आएकी उपमेयर रामले अचानक कार्यालय जान थालेपछि नगरवासीहरूबीच विभिन्न शंका उत्पन्न भएको हो ।
उपमेयर रामले लामो समयदेखि नगरप्रमुखसँग विवाद गर्दै कार्यालय जान छोडेकी थिइन्। उनले नगरप्रमुखले विभेद गरेको आरोप लगाउँदै कार्यालय जान छोडेपछि उनका सबै सेवा सुविधा प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले खोसिदिएका थिए । तर, यस वर्षको भदौ महिनाको पहिलो सातादेखि अचानक उनले पुनः कार्यालय जान थालेकी छिन् ।
एक जना जनप्रतिनिधिका अनुसार उपमेयर राम र नगरप्रमुख कुर्मीबीच नगरपालिकाको आधा बजेट र पिसी लिने सहमतिमा मिलापत्र भएको छ । यसले गर्दा उपमेयर राम पुनः नगरप्रमुखसँग मिलेर काम गर्न थालेको जनाइएको छ । नगरवासीहरूले उपमेयर रामको यो कदमलाई उनी मोटो रकम लिएर कार्यालय जान थालेको टिप्पणी गरिरहेका छन् ।
वृन्दावनमा राजनीतिक विश्लेषकहरूले उपमेयर रामको यस्तो व्यवहारप्रति तीव्र आलोचना गरेका छन् । उनीहरूले यस्तो कार्यलाई अस्थिर राजनीतिक संस्कारको परिणाम मानेका छन्, जहाँ भागबण्डा नमिल्दासम्म विरोध गर्ने र मिलेसँगै साथ दिने प्रवृत्ति प्रकट भएको छ ।
उपमेयर राम र नगरप्रमुख कुर्मीबीचको यो विवाद तथा मिलापत्रले वृन्दावन नगरपालिकामा आम सर्वसाधारणमा असन्तुष्टि बढेको छ। यस विषयमा उपप्रमुख रामसँग सम्पर्क गर्न खोज्दा उनको फोन सम्पर्क हुन सकेन । नगर प्रमुखसँग सत्य तथ्य बुझ्न खोज्दा उनको फोन उठेन ।