रौतहट,७ कार्तिक । डिभिजन वन कार्यालय रौतहटको गस्ती टोलीले भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ। चन्द्रपुर नगरपालिका वडा नम्बर ३ मा पर्ने चुरे क्षेत्रको ख्याकुबाट दुई थान बरुवा बन्दुक सहित एकजना पक्राउ परेका हुन् । चुरे क्षेत्रको ख्याकु गाउँमा अवैध रूपमा खयर काटेर डमरु कारखाना सञ्चालन गर्दै आएका कान्छामान जिम्बाको गोठमा डिभिजन वन कार्यालय रौतहटको गस्ती टोलीले छापामारी गर्ने क्रममा दुई थान भरुवा बन्दुक सहित जिम्बा पक्राउ परेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद शाहले जानकारी दिएका छन्। गैडाटार सब डिभिजन वन कार्यालयका प्रमुख रेन्जर विकास लामिछानेको नेतृत्वमा गएको गस्ती टोलीले जिम्बाको घरबाट दुई थान भरुवा बन्दुक र २० स्थान खयरको डमरु समेत बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत राजेश शाहले तराई एक्सप्रेसलाई जानकारी दिए।








