रौतहट, १९ कार्तिक । अबैध हतियार र गोलीसहित रौतहटमा एक जना भारतीय  नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा बिओपी बेलविछवाबाट खटिएको सुशस्त्र प्रहरीले रौतहटको राजदेवी नगरपालिका वडा नं- ९ ब्रम्हपुर स्थित संजिव सिंहको मदिरा भट्टी पसलमा आइतबार राती २ बजेको समयमा चेकजाँच गर्दा अबैध कलकटुवा पेस्तोल र गोलीसहित भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले जनाएका हुन् ।
नेपाल भारत सीमा क्षेत्रमा अवस्थित ब्रम्हपुर गाउँको छेउमा स्थानीय संजिव सिंहले सञ्चालन गरेका मदिरा भट्टी पसलमा रहेका शौचालय नजिक एक थान नलकटुवा पेस्तोल, सोही पेस्तोलमा लाग्ने ८ एमएमको ३ थान गोली, ८ एमएमको एक थान पड्केको गोलीका खोखा, एक थान मोवाइलसहित भारत विहार समस्तीपुर खैदी वडा नं- ५ घर भई हाल उक्त मदिरा भट्टी पसलमा बस्दै आएका ४२ बर्षिय राजेश सिंहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिए ।
पक्राउ परेका भारतीय नागरिक राजेश सिंह र भट्टी सञ्चालक संजिव सिंह नातामा सालो भिना पर्ने कुरा जानकारी दिदै सशस्त्र प्रहरीका एसपी हुमागाईले अबैध हतियार सहित पक्राउ परेका राजेश सिंहलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाएको बताए ।