रौतहट, १२ मंसिर । चन्द्रनिगापुरस्थित पूर्वपश्चिम राजमार्गको होटेल वेलकम यतिबेला विवादको केन्द्रमा छ। स्थानीय बासिन्दाहरूले लामो समयदेखि होटेलमा यौनजन्य गतिविधि हुँदै आएको आरोप लगाएका छन्। गुनासो अनुसार, सो होटेलमा नाबालिक किशोरीहरूको समेत प्रयोग गरी अवैध यौन धन्दा सञ्चालन भइरहेको छ ।
तराई एक्सप्रेसको एक विशेष छानबिन टोलीले होटेलका सञ्चालकसँग प्रत्यक्ष संवाद गर्दा, होटेलमा प्रति ग्राहक १,५०० रुपैयाँ शुल्क लिएर यौन सेवा प्रदान गरिने गरेको खुलासा भएको छ। सञ्चालकले खुलेआम यौन धन्दाको विषय स्वीकारेपछि स्थानीय बासिन्दाहरूको आक्रोश झन् चुलिएको छ ।
पहिले होराइजन होटलको नामले चिनिने यो होटेलले केही समयअघि नाम परिवर्तन गरेर ‘वेलकम’ राखेको थियो। नाम परिवर्तनसहित व्यवसायको स्वरूप पनि सुधारिएको भ्रम सिर्जना गरिएको भए पनि अवैध गतिविधि रोकिएको छैन ।
स्थानीयले यस्ता गतिविधिले समाजमा गलत प्रभाव पार्ने र युवापुस्तालाई अपराधतर्फ धकेल्ने भन्दै होटेल तत्काल बन्द गर्न र सञ्चालकलाई कारबाही गर्न माग गरेका छन् । यस विषयमा प्रहरीले हालसम्म ठोस कदम नचालेको स्थानीयको गुनासो छ ।
यस्ता घटनाले स्थानीय समाजमा नैतिकता र संस्कारमा गम्भीर असर पार्ने स्पष्ट छ । तर, सम्बन्धित निकायले कानूनी प्रक्रिया अघि बढाउन ढिलाइ गर्दा अवैध कार्य झन् मौलाएको छ ।
समाज सुधारका लागि प्रहरी प्रशासनले यस्ता होटलहरूमा निगरानी बढाउँदै कडा कारबाही गर्नुपर्ने देखिन्छ। स्थानीयले मात्र आवाज उठाएर यस्ता गतिविधि रोक्न नसकिने हुँदा सामूहिक पहल अपरिहार्य छ ।
चन्द्रनिगापुरजस्तो क्षेत्रमा यस्ता अवैध गतिविधि निरन्तर भइरहनु समाजका लागि घातक हो। स्थानीयको चासो र मागलाई सम्बोधन गर्दै सम्बन्धित निकायले तत्कालै कडा कदम चाल्नु आवश्यक छ ।