अशोक पहाडी
रौतहट,१५ पुस । जिल्लाको राजदेवी नगरपालिका(५ स्थित पासवान टोलमा आइतबार मध्यरात आगलागि हुदा आधा दर्जनभन्दा बढी घर जलेर नष्ट भएको छ । आगलागिबाट खौँ मूल्य बराबरको क्षति भएको छ ।
राति सवा २ बजेको समयमा पताही बस्ने जगतनाथ पासवानको खरले बारेको घरनजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो। आगलागीबाट बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी पासवान, प्रदीप पासवानलगायत ७ जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट ८ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए । आगलागी भएको खबर पाउना साथ बीओपी बेलबिछवाबाट सशस्त्र प्रहरीका सई मदन कुमार शाहको कमान्डमा १० जना, प्रहरी चौकी बसन्तपुरबाट असई रामलगन दासको कमान्डमा ५ जना, गौर नगरपालिकाको दमकल र स्थानीयवासीहरुको सहयोगमा बिहान साढे ३ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । अन्य मनवीय क्षति नरहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले जानकारी दिए।