चन्द्रपुर,१५ जेठ ।
धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित चन्द्रपुर नगरपालिका–१ स्थित पौराई ब्रह्मस्थानमा ठेक्का लगाउने नगरपालिकाको तयारीप्रति स्थानीयवासीले कडा विरोध जनाएका छन् । ब्रह्मस्थान सञ्चालक समिति र स्थानीय बासिन्दाले संयुक्त रूपमा चन्द्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै मन्दिर क्षेत्रको आम्दानीमा ठेक्का प्रणाली लागू नगर्न आग्रह गरेका हुन् । स्थानीयका अनुसार ब्रह्मस्थानमा हरेक वर्ष विशेष गरी दशैं, तिहार, चैते दशैंलगायतका पर्वहरूमा ठूलो संख्यामा भक्तजन पुग्ने गर्दछन् । ती अवसरमा पशुबलि, प्रसाद र अन्य सेवाबाट उठ्ने रकम विगतमा सहमति अनुसार बाँडफाँट हुने गरेको थियो । नगरपालिकासँग भएको सहमति अनुसार आम्दानीको ६० प्रतिशत रकम नगरपालिका र ४० प्रतिशत ब्रह्मस्थान सञ्चालक समितिलाई प्रदान गरिने भनिएको थियो । तर, सो सहमति कार्यान्वयनमा नआएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । “नगरपालिकाले भागबण्डाको सहमति पालना नगरेपछि हामीले ठेक्काविरुद्ध आवाज उठाएका हौं,” ब्रह्मस्थान सञ्चालक समितिका एक सदस्यले तराई एक्सप्रेसलाई बताए ।
स्थानीय बासिन्दा लक्ष्मण न्यौपाने भन्छन्, “ब्रह्मस्थान हाम्रो आस्थाको केन्द्र हो । नगरपालिकाले जबर्जस्ती ठेक्का लगाउने हो भने हामी सडकमा उत्रिनेछौं ।” उनका अनुसार धार्मिक र सांस्कृतिक महत्व बोकेको स्थानमा ठेक्का प्रणाली लागू गर्नु अपमानजनक र अमर्यादित हो ।
यता, चन्द्रपुर नगरपालिकाले भने यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन । नगर प्रमुख वा सम्बन्धित निकायबाट प्रतिक्रिया नआएसम्म स्थानीयको दबाब थप चर्किंदै जाने संकेत देखिएको छ ।
पौराई ब्रह्मस्थानजस्ता ऐतिहासिक तथा धार्मिक स्थलहरूमा जनताको सहभागिता, पारदर्शिता र सहमतिको आधारमा मात्रै निर्णय हुनुपर्ने स्थानीयको धारणा छ । ठेक्का लगाउने प्रक्रियाले धार्मिक भावनामा चोट पु¥याउन सक्ने भन्दै उनीहरूले नगरपालिकालाई गम्भीर भएर पुनर्विचार गर्न आग्रह गरेका छन् । २०८२ जेठ १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।