चन्द्रनिगाहपुर, — प्रेस चौतारी नेपालले संगठन विस्तार तथा सशक्तिकरण अभियान अन्तर्गत बाराको इञ्चार्जमा रमेश तिमलसिना र रौतहटको इञ्चार्जमा इन्दिप कोईरालालाई खटाएको छ। दुबैजना प्रेस चौतारीका केन्द्रीय सदस्य समेत हुन् ।
रमेश तिमलसिना पत्रकारिता क्षेत्रमा झण्डै दुई दशकदेखि सक्रिय छन्। उनले विभिन्न मिडियामा रहेर प्रेस स्वतन्त्रताको पक्षमा कलम चलाउँदै आएका छन् । स्थलगत रिपोर्टिङदेखि सामाजिक मुद्दामा आवाज उठाउने पत्रकारका रूपमा उनी चिनिन्छन् । प्रेस चौतारीमा लामो समयदेखि आवद्ध तिमलसिना संगठन विस्तार, तालिम तथा प्रेस अभिव्यक्तिको सशक्त पक्षधर मानिन्छन् ।
त्यस्तै, रौतहटमा खटाइएका इन्दिप कोईराला पनि पत्रकारिता र संगठनात्मक कार्यमा सशक्त योगदान दिँदै आएका छन् । तराई मधेसका विविध विषयमा कलम चलाउने कोईराला सामाजिक न्याय, स्थानीय शासन तथा वातावरणीय विषयमा विशेष चासो राख्छन् । उनले प्रेस चौतारीको संगठनलाई जिल्लास्तरमा अझ प्रभावकारी बनाउने लक्ष्य लिएका छन्।
प्रेस चौतारी नेपालले दुबै जिल्लामा आफ्ना संरचना सशक्त बनाउनका लागि अनुभवी तथा क्रियाशील पत्रकारहरुलाई जिम्मेवारी दिइएको जनाएको छ। संगठनका अनुसार नयाँ इञ्चार्जहरुले छिट्टै , पत्रकार सुरक्षा तथा प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राखेर काम अघि बढाउने छन् ।








