चन्द्रपुर,७ असार ।
रौतहट जिल्लाका स्थानीय तहहरूमा हालै एकपछि अर्को गर्दै नगरसभा तथा गाउँसभाहरूको आयोजना भव्य रूपमा हुँदैछन् । यी कार्यक्रमहरू नीति, बजेट तथा योजनाहरू निर्धारण गर्ने संवैधानिक प्रक्रियाको अभिन्न हिस्सा हुन्। तर पछिल्ला वर्षहरूमा यी सभाहरू ‘तामझाम महोत्सव’ जस्तै हुँदै गएका छन् । खासगरी संघीय, प्रदेश वा केन्द्रीय नेताहरूलाई स्वागत गर्न लाखौं रुपैयाँ खर्च हुने गरेको छ । पछिल्लो उदाहरणका रूपमा शुक्रबार गरुडा नगरपालिकामा आयोजित १३औँ नगरसभामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई ५१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ । नगरप्रमुख कन्थमणि प्रसाद जैसवाल, उपप्रमुख पुनम देवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत महमद मुस्ताक आलमको अगुवाइमा गरिएको यो स्वागतमा मात्र हजारौं रुपैयाँ खर्च भएको स्थानीय स्रोतले जनाएका छन् ।
कार्यक्रम स्थलमा झिलिमिली स्वागतद्वार, पानस, साउण्ड सिस्टम, फूलमाला, खाद्यान्न, भाडा, मञ्च निर्माणलगायतका नाममा नगरपालिकाको लाखौं रुपैयाँ खर्च गरिएको देखिन्छ ।
स्थानीय तहका अधिकांश कार्यक्रमहरू करदाताबाट संकलित राजस्व वा केन्द्र तथा प्रदेशबाट प्राप्त अनुदानमार्फत सञ्चालित हुन्छन् । यस्ता रकमलाई नीति निर्माण, पूर्वाधार निर्माण वा सेवा प्रवाहमा प्रयोग गर्नुपर्ने हो । तर पछिल्ला केही वर्षदेखि जनप्रतिनिधि र कर्मचारीको प्राथमिकता यस्ता समारोहलाई भव्य बनाउनेमा देखिएको छ ।
नगरसभा तथा गाउँसभाका नाममा मञ्च निर्माण, प्रमुख अतिथि स्वागत, पत्रकार भत्ता, माइकिङ, माला–फूल, फोटो–भिडियो, ब्यानर, कलेक्सन फोल्डर, खाजा र भोजनलगायतका शीर्षकमा स्थानीय तहले थुप्रै रकम विनियोजन गर्ने गरेका छन् । एक अनुमान अनुसार, एउटा नगरसभाको आयोजनामा न्यूनतम ३ देखि ७ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ ।
गरुडा नगरपालिकाको नगरसभामा मात्रै ७० भन्दा बढी पत्रकार सहभागी रहेको तथ्यांक सार्वजनिक भएको छ । पत्रकारहरूलाई प्रति व्यक्ति १ हजार रुपैयाँ भत्ता र नास्ताको व्यवस्था गरिएको थियो । यसरी प्रलोभनमा आएर केही स्वघोषित पत्रकारहरू पनि यस्ता कार्यक्रममा ‘हाजिरी’ गर्न थालेकोप्रति वास्तविक सञ्चारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । यसरी आर्थिक प्रलोभनमा सञ्चार क्षेत्रलाई प्रभावमा पार्ने प्रयासले पत्रकारिताको स्वतन्त्रता र मूल्य नै खतरामा पर्ने देखिएको पत्रकार राकेश कुमार यादवले आफ्नो फेसबुकमा स्टाटस लेखेकाछन ।
नगरसभा तथा गाउँसभा मूलतः बजेट, योजना, नीति तथा प्राथमिकता निर्धारण गर्ने अवसर हो । तर अहिलेका अधिकांश पालिकामा यो प्रक्रिया ‘शो अफ’ गर्ने माध्यम बनेको छ । कतिपय पालिकामा त मन्त्री वा सांसद बोलाउने होड नै चलेको छ । यस क्रममा पालिकाले उच्चस्तरीय पाहुनाका लागि विशेष तयारी, स्वागतद्वार, महंगा गिफ्ट सेट, होटल तथा ट्राभल खर्च समेत बेहोर्ने गरेका छन् ।
जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी गरिनुपर्ने योजना निर्माणको जिम्मेवारी बोकेको नगरसभा आज शोभा प्रदर्शन र स्वार्थपूर्तिको थलो बन्दै गएको आलोचना गरिंदैछ ।
विगतका नगरसभा र गाउँसभा हेर्दा अधिकांश पालिकाले आफ्नो कार्यकालको चौथो वा पाँचौं नगरसभासम्म आयोजन गरिसकेका छन् ।
तर यिनले निर्माण गरेका योजना, सार्वजनिक सेवा वा पूर्वाधारको प्रगति भने न्यून देखिन्छ। पालिकाको बजेटको ठूलो हिस्सा प्रशासनिक खर्चमा सकिएको देखिन्छ, जसमा यस्ता तामझाम कार्यक्रममा हुने खर्च अग्रस्थानमा पर्दछ ।








