पर्सा — आफ्नै पत्नीको घाँटी थिची हत्या गरेको आरोपमा पर्साको जगरनाथपुर गाउँपालिका–४ निवासी ३५ वर्षीय सफिराजा मियाँ पक्राउ परेका छन्।
शनिबार राति पत्नी लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार मियाँलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको छ।
“प्रारम्भिक अनुसन्धानमा लामो समयदेखि दम्पतीबीच बोलचाल बन्द रहेको खुलेको छ,” डीएसपी लम्सालले भने, “श्रीमान् वैदेशिक रोजगारीबाट फर्किएपछि श्रीमतीले राम्रो व्यवहार नगरेको, वास्ता नगरेको भन्दै रिसको आवेगमा हत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ।”
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








