कठमाण्डौ,२३ असार । अदिती कलेक्सन मल्टिपर्पोज प्रा.ली. को ब्यानरमा दि लाईफ एक्सप्रेस मुभी मेकर्सले निर्माण गरेको सांगीतिक भिडियो ‘असारे गीत’ सार्वजनिक भएको छ । सो गितमा चर्चित गायक तथा संगितकार सुर्य राई दनुवारले संगिता दिएका छन् । ओ.ए.आर. मूभिज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले नेवारी भाषा, कला र संस्कृतिलाई केन्द्रमा राखेर असारे महिनाको महत्व उजागर गरेको छ । गीतका रचनाकार हुन् बिश्व कीर्तिमानी उपाधी प्राप्त गीतकार सुरेन्द्र महर्जन ‘अमर’। सङ्गीत बहुप्रतिभाशाली सङ्गीतकार सुर्य राई दनुवारले कम्पोज गरेका हुन् भने स्वर सुप्रसिद्ध गायक शंकर लाल श्रेष्ठ र गायिका दिलु श्रेष्ठले दिएका छन् ।
भिडियो निर्देशन चलचित्र क्षेत्रमै सक्रिय निर्देशक रोशन के श्रेष्ठले गरेका छन् । भिडियोमा चर्चित मोडेल जुना कार्की र गायक श्रेष्ठ स्वयम् मोडलका रूपमा देखिएका छन्। उनीहरूसँगै इन्द्रेणी टेलिभिजन कार्यक्रमका अध्यक्ष कृष्ण कडेल, कलाकार छत्र शाही लगायत अन्य कलाकारहरूको पनि अभिनय देख्न सकिन्छ ।
भिडियोको छायांकन नगरकोट बजार, मण्डन–देउपुर नगरपालिका अन्तर्गतको कुन्ताबेसी, ढाँइटार लगायतका रमणीय स्थानमा गरिएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई प्रवद्र्धन गर्ने उद्देश्यले भिडियोमा त्यहाँको सांस्कृतिक र प्राकृतिक दृश्य समावेश गरिएको निर्माण पक्षले जनाएको छ ।
कृषिप्रधान देश नेपालमा जातीय र सांस्कृतिक विविधता रहेको सन्दर्भमा, असारे महिना र नेवारी संस्कृतिको मेलमिलापमा निर्माण गरिएको यो भिडियोले नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल हुने विश्वास गरिएको छ ।








