रौतहट,२५ असार ।

मंगलबार राति १ बजेको समयमा चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला गेटदेखि पूर्वतर्फको वन क्षेत्रमा गस्तीमा खटिएको डिभिजन वन कार्यालय रौतहटको टोलीले तस्करीका लागि प्रयोग गरिएको गाडीसहित साल जातको काठ बरामद गरेको हो।

वन अधिकृत अनिल कुमार महतो र रेन्जर विकास लामिछानेको संयुक्त कमान्डमा रहेको गस्ती टोलीले भारतीय नम्बर प्लेट (UP14 BW 1445) भएको टाटा सफारी गाडीबाट सात थान सालको गोलिया काठ बरामद गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।

स्थानीयहरूका अनुसार, काठ चोरीमा केही वन कर्मचारीको मिलेमतो रहेको आशंका समेत गरिएको छ। नियमित गस्ती भए पनि संगठित तस्करी समूह र कमजोर निगरानीका कारण काठ तस्करी मौलाउँदै गएको उनीहरूको गुनासो छ।

वन क्षेत्रको संरक्षण र तस्करी नियन्त्रणका लागि अझ प्रभावकारी गस्ती, सूचना संकलन र कर्मचारी जवाफदेहिता आवश्यक भएको सरोकारवालाको भनाइ छ। बरामद गरिएको गाडी र काठलाई आवश्यक अनुसन्धानपछि कानुनी कारबाही प्रक्रिया अघि बढाइने वन कार्यालयले जनाएको छ।