रुपेन्द्र पटेल
चन्द्रपुर, २८ असार ।
के तपाईं चन्द्रनिगापुर क्षेत्रमा बसेर जारको पानी अफिस वा घरमा प्रयोग गर्दै हुनुहुन्छ ? यदि हो भने सतर्क रहनुहोस्, किनभने तपाईँले प्रयोग गरिरहनुभएको सो पानी सिधै (कल) धाराबाट निकालेर कुनै गुणस्तरीय परीक्षणबिना सिलबन्दी गरी तपाईंको घर वा अफिसमा पु¥याइएको हुनसक्छ ।
जिल्ला प्रशासन कार्यालय रौतहट र चन्द्रपुर नगरपालिकाको संयुक्त टोलीले शुक्रबार चन्द्रपुर बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा दर्ता बिना सञ्चालनमा रहेको पानी उद्योग र म्याद गुज्रिएका खाद्य सामग्री फेला पारेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीको नेतृत्वमा गरिएको उक्त अनुगमनमा प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनिष झा, न्यायिक अधिकृत राम नरेश साह, अन्य प्रशासनिक कर्मचारी, चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरी, वडा नम्बर ४ का अध्यक्ष रवि राणा मगर, वडा नम्बर ६ का अध्यक्ष सहदेव केसी, उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरे, इलाका प्रशासन कार्यालय चन्द्रनिगापुरका प्रतिनिधि, डीएसपी राजकुमार राई, उद्योग वाणिज्य संघ चन्द्रपुरका सदस्य अनन्त अधिकारी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा चन्द्रपुर नगरपालिका–५ मा रहेको रजनेस गुप्ताले सञ्चालन गर्दै आएको एक पानी उद्योग बिना दर्ता सञ्चालनमा रहेको पाइएको हो ।
उक्त उद्योगले धाराको पानी मोटरबाट निकालेर जारमा भरेर बजारमा बिक्री गर्दै आएको जानकारी उपप्रमुख जयमाला चौधरीले दिइन् ।
उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरेका अनुसार पानी उद्योगले कुनै परीक्षण उपकरण र स्वीकृत विधिबिना धाराको पानी नै बेच्दै उपभोक्तालाई ठग्दै आएको पाइयो ।
उनका अनुसार, “कलको पानीलाई सिलबन्दी गरेर बजारमा पठाउनु उपभोक्ताको स्वास्थ्यसँग खेलवाड हो ।“ जिल्ला प्रशासन कार्यालयले उद्योगका सञ्चालक गुप्तालाई आइतबार कागजातसहित उपस्थित हुन आदेश दिएको छ ।
प्रशासकीय अधिकृत मनिष झाका अनुसार, “यदि तोकिएको समयमा कार्यालयमा उपस्थित नभएमा उद्योगलाई सिलबन्दी गरी कानुनी कारबाही र कडा जरिवाना गरिनेछ ।“यसैबीच चन्द्रनिगापुरस्थित रविन डिपार्टमेन्ट एण्ड किराना पसल, एक्स्ट्रा भेराइटी डिपार्टमेन्ट स्टोर, मिनिमार्ट, खुसीमार्ट र साथी मार्क लगायतका स्टोरहरूमा पनि अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा म्याद गुज्रिएका केही सामग्री फेला परेका छन् । ती सामग्रीहरू तत्काल जफत गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका न्यायिक सुब्बा राम नरेश साहले म्याद गुज्रिएका सामग्री दोस्रोपटक फेला परेमा कडा कारबाही र जरिवाना गरिने चेतावनी दिएका छन् ।
अनुगमन टोलीले व्यवसायीहरूलाई कुनै पनि वस्तु अधिक मूल्यमा नबेच्न र उपभोक्तालाई झुक्याउने कार्य नगर्न सख्त निर्देशन दिएको छ ।
संयुक्त अनुगमन टोलीको यस्तो सक्रियता उपभोक्ता हितमा उल्लेखनीय कदमका रूपमा लिइएको छ ।
उपभोक्ता अधिकारसम्बन्धी चेतनामा वृद्धि गर्नुका साथै अनियमित व्यवसायिक गतिविधिमा नियन्त्रणका लागि स्थानीय प्रशासन र नगरपालिकाको यस किसिमको अनुगमन अभियान आवश्यक रहेको उपभोक्तावादीहरूले बताएका छन् ।