काठमाडौँ, – मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’लाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार झालाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको हो। उनका अनुसार चैत २५ गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए।
प्रहरीले उनलाई अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको छ। २३ वर्षीया युवतीले झाविरुद्ध बलात्कारको जाहेरी दिएपछि प्रहरीले सोही आधारमा प्रक्रिया अघि बढाएको हो।
पीडित युवतीका अनुसार झाले उनलाई काठमाडौँस्थित आफ्नै निवासमा बोलाई बलात्कार गरेका थिए। झा मधेस प्रदेशको प्रमुखका रूपमा २०७७ साल फागुन ७ गते नियुक्त भएका थिए।
यसअघि झाले नै ती युवतीविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा जाहेरी दिएका थिए। सो मुद्दामा ती युवती प्रहरीमा हाजिर भई जमानीमा रिहा भएकी थिइन्।








