रौतहट — हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। मनसुनको न्यून चापीय रेखा सामान्यभन्दा केही उत्तरतर्फ रहेको जनाइएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बदली रहेको जनाइएको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताइएको छ भने गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा समेत भइरहेको उल्लेख गरिएको छ। दिउँसो र राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ।

तर पूर्वानुमान र वास्तविकता भने नमिलेको देखिएको छ। मौसम पूर्वानुमानले मधेश प्रदेशमा समेत वर्षाको सम्भावना रहेको जनाएको भए पनि रौतहटसहितका जिल्लामा मंगलबार बिहानैदेखि टन्टलापुर घाम लागेको छ। बिहानैदेखि आकाश खुलेको र तातो घाम लागिरहेकाले वर्षाको कुनै संकेत छैन।

मौसम पूर्वानुमानमा उल्लेख भएअनुसार हल्का देखि भारी वर्षाको सम्भावनाले किसानमा आशा पलाएको थियो। तर पानी नपरेपछि खेत सुक्खा छन्, धान रोपाइँ गर्ने समय कट्दैछ, र किसान पुनः अन्योलमा परेका छन्।

स्थानीय किसानहरु भन्छन्, “पानी पर्नेछ भनेर तयार भइयो, बीउ भिजाइयो, तर धुलो उडिरहेको छ। वर्षा नभएपछि सबै योजना चौपट भयो।”

मौसम पूर्वानुमान विभागले डुबान, पहिरो र बाढीको जोखिम चेतावनी दिँदै सतर्क रहन आग्रह गरे पनि तराईका कृषकहरू भने वर्षा नहुँदाको चिन्ताले आक्रान्त छन्।

यसरी पूर्वानुमान र वास्तविकता नमिल्दा किसानको जनजीवनमा प्रत्यक्ष असर पर्ने देखिन्छ। सरकार तथा सम्बन्धित निकायहरूले दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने आवश्यकता झनै देखिएको छ।