चन्द्रपुर,२५ साउन । रौतहटसहित मधेस प्रदेशका ८ जिल्लामा सवारी दुर्घटनाको संख्या र त्यसबाट हुने मानवीय क्षति बर्सेनि बढ्दै गएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाका अनुसार पछिल्ला तीन आर्थिक वर्षयता सवारी दुर्घटनाको ग्राफ लगातार उकालो लागिरहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा मधेस प्रदेशभर ५ हजार ९८८ वटा सवारी दुर्घटनामा ५४६ जनाले ज्यान गुमाएका थिए । तीमध्ये रौतहटमा मात्रै उल्लेख्य संख्यामा दुर्घटना र मृत्यु भएको कार्यालयले जनाएको छ । सो वर्ष ९ हजार ६७० जना घाइते भएका थिए ।

२०८०/८१ मा दुर्घटनाको संख्या ६ हजार ५८ पुग्दा ५३० जनाको मृत्यु र ९ हजार ७४५ जनाको घाइते हुने तथ्याङ्क छ । गत आर्थिक वर्ष २०८१/८२ मा त झन् दुर्घटना बढेर ७ हजार ४४३ पुगेका छन् । यस अवधिमा ५६४ जनाले ज्यान गुमाए भने १२ हजार १२३ जना घाइते भए ।

सबैभन्दा धेरै दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल अग्रस्थानमा रहेको तथ्याङ्कले देखाएको छ ।

राजमार्ग ट्राफिक कार्यालय पथलैयाका प्रहरी नायब उपरीक्षक वकिल बहादुर सिंहका अनुसार दुर्घटना बढ्नुको मुख्य कारण तीव्र गति, लापरबाहीपूर्वक सवारी चलाउने बानी र अस्वाभाविक ओभरटेक गर्ने प्रवृत्ति हो । “सहरी क्षेत्रभन्दा भित्री सडकखण्डमा दुर्घटना धेरै छन्,” उनले भने, “जनचेतनामूलक कार्यक्रम गरे पनि चालकले नियम पालनामा गम्भीरता नदेखाउने गरेका छन् ।”

गत वर्ष मात्र मधेसका ८ जिल्लामा २० हजार ५१९ वटा जनचेतनामूलक कार्यक्रम भए पनि प्रभाव भने न्यून रह्यो । डीएसपी सिंहका अनुसार धेरै चालकले आफूको सुरक्षाका लागि होइन, ट्राफिक प्रहरीले कारबाही नगरोस् भनेर मात्रै हेलमेट लगाउने गरेका छन् ।

राति सडकमा रहेका खाल्टाखुल्टीका कारण पनि दुर्घटना बढ्ने गरेको ट्राफिक कार्यालयको भनाइ छ । अनुसन्धानमा सहयोग पुर्‍याउने मुख्य साधन सीसी क्यामेरामध्ये धेरै बिग्रिएका कारण पनि रातको दुर्घटनामा अनुसन्धान गर्न समस्या हुने गरेको सिंहले बताए । मधेसका ८ जिल्लामा जडान गरिएका ५८ वटा सीसी क्यामेरामध्ये हाल ३३ वटा बिग्रिएका छन् । रौतहटमा जडान गरिएका १२ मध्ये धेरै लामो समयदेखि मर्मत हुन सकेका छैनन् ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालयले गत वर्ष २ लाख ८ हजार सवारी साधनलाई कारबाही गरी १८ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।