१९ वर्षअघि रौतहटको सदरमुकाम गौरमा भएको नरसंहारको फाइल खुलेको छ । सर्वोच्च अदालतले हिजो जिल्ला प्रहरी कार्यालयलाई परमादेश दिँदै घटनाको निष्पक्ष छानबिन गर्न आदेश दिएपछि सो विषय पुनः चर्चामा आएको छ ।

यसै क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले तराई एक्सप्रेस दैनिकसँग विशेष कुराकानी गर्दै घटनाको मूल योजनाकार तत्कालीन मधेसी नेता प्रभु शाह भएको खुलासा गरेका छन् ।

– अदालतले गौर नरसंहार फाइल खोल्ने आदेश दिएको छ, तपाईं कसरी लिनुहुन्छ?
गुप्ता : हामी अदालतको निर्णयको सम्मान गर्छौं । सत्य लुक्दैन भन्नेमा विश्वास गर्छौं । निष्पक्ष छानबिन होस् भन्ने हाम्रो चाहना हो, त्यसका लागि मैले र मेरो पार्टीले पूर्ण सहयोग गर्नेछौँ ।

– तर तपाईंको नाम पनि सो घटनामा मुछिएको थियो नि ?
त्यो असामान्य परिस्थिति थियो । मेरो नाम मुछिएको भए पनि म प्रत्यक्ष संलग्न थिइनँ । बरु घटनाको वास्तविक योजनाकार र निर्देशन दिने व्यक्ति को हुन् भन्ने कुरा अहिले खुलेर आउनुपर्छ।

– तपाईंले बारम्बार प्रभु शाहलाई नै दोषी भनेको सुनिन्छ, त्यसबारे के भन्नुहुन्छ?
गुप्ता : हो, म फेरि पनि भन्छु—गौर नरसंहारको मूल योजनाकार प्रभु शाह नै हुन् । त्यस दिन माओवादी कार्यकर्तामाथि आक्रमण गर्न भीड परिचालन गर्ने निर्णय शाहकै आदेशमा भएको हो । त्यसकै परिणाम स्वरूप २७ जना निर्दोष माओवादी साथीहरूको ज्यान गयो । अब अदालतले दोषीलाई बाहिर ल्याउँछ भन्ने आशा छ।

– तर शाह निकटहरूले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै निवेदन दिएका छन् नि ?
निवेदन दिनु सजिलो कुरा हो । तर शाहले आफ्नो भूमिका र जिम्मेवारीबाट पन्छिन सक्दैनन् । सत्य स्वीकार्नैपर्छ । त्यो दिन घटनास्थलमा कसको प्रभाव थियो भन्ने कुरा आज पनि रौतहटले बिर्सेको छैन ।

– अहिले तपाईं एमालेको केन्द्रीय नेतृत्वमा हुनुहुन्छ, यस केसले तपाईंको राजनीतिक भविष्यलाई असर पार्छ भन्ने सोच्नु भएको छैन?
म निर्दोष छु भन्नेमा ढुक्क छु । सत्य बाहिर आउनुपर्छ भन्ने चाहना पनि मेरो छ । दोषी जोसुकै भए पनि कानुन अगाडि उभिनैपर्छ । त्यसैले यो मुद्दाले मेरो राजनीतिक जीवनलाई असर गर्दैन, बरु पीडितले न्याय पाउने मार्ग खुल्छ।

– अन्तिममा, पीडित परिवारलाई के भन्न चाहनुहुन्छ?
पीडित परिवार १९ वर्षदेखि न्यायको प्रतीक्षामा छन् । उनीहरूको पीडा हाम्रो साझा पीडा हो । अब अदालतको आदेशले उनीहरूलाई न्याय दिलाउने ढोका खोल्छ भन्नेमा म विश्वस्त छु ।