मधेश प्रदेशका विभिन्न जिल्लामा हालै महँगो गाडी प्रयोग गरी काठ तस्करी हुने क्रम बढेको छ । परम्परागत रूपमा ट्रक, ट्र्याक्टर, मोटरसाइकल वा साइकलमा हुने तस्करी पछिल्ला वर्षमा स्कारपियो, बोलेरो, टाटा सुमो, टाटा मोबाइल जस्ता निजी सवारीमा गर्न थालिएको छ
साउन १५ गते राति कटहरिया नगरपालिका–१, भसेडवा गाउँमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको टोलीले जाँच गरेको एमएच ०४ डीबी ६३५३ नम्बरको स्कारपियोमा चार थान काँचो सालको गोलिया बरामद भएको थियो। चालक गाडी छाडेर फरार भएपछि गाडी भित्र सिट हटाई राखिएको साल देख्दा वन टोली आश्चर्यमा परेको थियो। त्यसैगरी दुई दिनपछि चन्द्रपुर–६ बेलडी नजिकै इलाका प्रहरीले एचआर १४ सी ८६९७ नम्बरको भारतीय स्कारपियो रोकेर पाँच थान सालको गोलिया फेला पारेको थियो ।
यसअघि पनि डिभिजन वन कार्यालयले धन्सार पोस्टको रेन्जर विकास लामिछानेको टोलीमार्फत बोलेरो पिकअप (ना २ च ९३१९) मा करिब ८५ क्यूफिट साल बरामद गरेको थियो । त्यस्तै साउन ५ गते सशस्त्र प्रहरी गस्ती टोलीले गुजरा–४ मा भारतीय टाटा सफारी जिपभित्र २० क्यूफिट साल लोड गरिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
वन प्रमुख हेमन्तकुमार साहका अनुसार पहिले मालवाहक ट्रक वा ट्र्याक्टरमार्फत हुने काठ तस्करी अहिले निजी जिपतर्फ सरेको छ । भारतीय नम्बर प्लेट भएका स्कारपियो र बोलेरो बढी प्रयोग हुने गरेका छन्। चोरीको गाडीमा नक्कली नेपाली नम्बर प्लेट राखिएकाले वास्तविक सवारीधनी पहिचान गर्न वन कार्यालयलाई कठिनाइ भएको छ ।
गत ६ महिनामा मात्र डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले ४ वटा स्कारपियो, बोलेरो र सुमो नियन्त्रणमा लिएको छ। पछिल्लो पाँच वर्षमा भने २१ वटा स्कारपियो, टाटा सफारी र अन्य जिप बरामद भएको वन कार्यालयले जनाएको छ । यस अवधिमा करिब ३ हजार ७४५ क्यूफिट सालको काठ जफत गरिएको छ ।
भारतबाट २ देखि ३ लाख रुपैयाँमा सस्तोमा खरिद गरिएका चोरीका जिप राति तस्करीका लागि बढी प्रयोग हुने गरेको तथ्य फेला परेको छ । सवारीधनी पत्ता लगाउन नसकिँदा तस्करहरू उम्कने गरेको वन अधिकृतहरूको भनाइ छ ।
वन मन्त्रालयका अधिकारीहरूले काठ तस्करले दिनानुदिन नयाँ उपाय अपनाइरहेकाले राजमार्गदेखि भित्री बाटासम्म निगरानी कडा पार्नुपर्नेमा जोड दिएका छन् । हाल रौतहटको धन्सार, वृन्दावन, रंगपुर, जंगलसैया, जुडिबेला, गैंडाटार र चन्द्रनिगाहपुर क्षेत्रमा काठ चोरी बढी हुने गरेको वन कार्यालयले जनाएको छ । स्थानीयले भने वन कर्मचारीकै मिलेमतोमा जंगलमा रुख काटिने र लाने बेलामा बार्गेनिङ नमिलेपछि वन कर्मचारी त्यस्ता सवारी साधान बरामद गर्ने गरेकाछन् ।
रौतहटको वनमा अधिकांस स्थानीय कर्मचारीको हालिमुहाली रहेका कारण उनीहरुकै सुराकीका कारण वनमा चोरी तस्करी बढेको जानकारहरुको भनाइ रहेको छ । रौतहटको वनमा आउनकै लागि कर्मचारीले मधेश प्रदेश सरकारका वन मन्त्रीलाई नजराना बझाउने गरेको र त्यो उठाउनकै लागि वन कर्मचारी समेत तस्करसंग मिल्ने गरेको स्थानीयको भनाइ रहेको छ ।
प्छिल्लो समय रौतहटको वनमा बिभिन्न बाहनामा हानीनोक्सानी बढदै जान थालेको भन्दै स्थानयि स्तरबाट वन कर्मचारीको चर्को आलोचना हुदै आएको छ ।








