रौतहट,१० भदौ । माधव नारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ डेराबाट बाहिर निस्किइन ्। तर, उनी फर्केर आइनन् ।
रातको अन्धकारपछि आइतबार बिहान गौर–सिरसिया सडकखण्ड, मुडवलवा गेट नजिकै एउटा ठूलो निलो सुटकेस भेटियो । सुटकेस डोरीले कस्सिएको थियो । प्रहरीले खोलेर हेर्दा भित्र खुम्च्याइएको अवस्थामा रुबीको शव देखियो । प्रहरीका अनुसार शवमा गम्भीर चोटपटक थिएन । तर नाकबाट रगत बगेको, हातखुट्टा पट्याएर खुम्च्याइएको अवस्थामा सुटकेसभित्र शव हालिएको थियो ।
“यस्तो शैलीमा शव प्याक भएको घटना रौतहटमा पहिलो पटक देखियो । प्रारम्भिक अध्ययनले यो साधारण हत्या नभई योजनाबद्ध अपराध हो भन्ने देखाउँछ ।
साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई–रिक्सा चालकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका व्यक्ति गौर बजारका ई–रिक्सा चालक लक्ष्मण महरा हुन् । रुबीको हत्या गर्ने व्यक्तिले शव सुटकेसमा राखेर फाल्न लैजान महराको ई–रिक्सा ५ सयमा भाडामा लिएका थिए ।
गंगापिप्रा गाउँसम्म सुटकेस लैजान हत्याराले ई–रिक्सा भाडामा लिएको प्रहरीको भनाइ छ । मुडलवा गेटनजिक पुगेपछि ई–रिक्साको चक्कामा समस्या आएको थियो । त्यसपछि ई–रिक्सालाई फिर्ता पठाइ सुटकेस सडकमै राखेर भागेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीको भनाइ छ ।
महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको बयान दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रुबीको हत्याराको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्कीले बताए । घटना स्थल नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर दूरीमा पर्छ । शव सीमा नजिकै भेटिनुले अर्को प्रश्न उब्जाएको छ—
के रुबीको हत्या भारतमा गरेर शव नेपाल ल्याइयो ? कि नेपालमै योजनाबद्ध हत्या गरेर सीमामा फालियो ? प्रहरीले अहिलेसम्म वरपरका सीसीटीभी फुटेज संकलन गरिरहेको छ भने मृतकका श्रीमान्, आमा र भाइको बयान लिएको छ ।
रुबीको विवाह पाँच वर्षअघि भारतको मुजफ्फरपुर निवासी शिव सागर साहसँग भएको थियो । हाल उनी गौर–२ महादेवपट्टीस्थित माइती र छोरासँगै डेरामा बस्दै आएकी थिइन् ।
मोबाइल हराउनु, शवलाई सुटकेसभित्र प्याक गर्ने शैली, सीमा नजिक शव भेटिनु—यी सबै तथ्यले प्रहरीलाई साधारण अपराधभन्दा फरक दिशामा अनुसन्धान गर्न बाध्य पारेको छ ।
प्रहरीले हाल डिजिटल प्रमाण, पारिवारिक पृष्ठभूमि र सम्भावित सम्बन्धलाई केन्द्रीत गर्दै अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रहरी प्रबक्ता डिएसपी कार्कीका अनुसार प्रहरी मुख्य अपराधिको नजिक पुगिसकेको छ । हामी चाडै अपराधिकलाई नियन्त्रणमा लिने तयारी गरिरहेकाछौं कार्कीले भने ।








