रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाले जिल्लाभर ‘प्रेस’ लेखिएका सवारी साधनको दुरुपयोग बढिरहेको भन्दै अबदेखि सो शब्द हटाउने निर्णय गरेको छ ।

आज बसेको शाखा समितिको बैठकले सवारी साधनमा ‘प्रेस’ लेख्न नपाइने र सम्बन्धित मिडिया हाउसको नाममा खरिद भएका सवारी साधनमा मात्र सो मिडियाको नाम उल्लेख गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको हो ।

महासंघले आपतकालीन अवस्था, कर्‍फ्यू वा सवारी आवागमनमा प्रतिबन्ध भएको विशेष अवस्थामा मात्र पत्रकार तथा संचारकर्मीले ‘प्रेस’ लेखिएको सवारी प्रयोग गर्न सकिने जनाएको छ । अन्य सामान्य अवस्थामा भने यस्तो प्रयोग नगर्न सबै संचारकर्मीलाई आग्रह गरिएको छ ।

‘प्रेस’ लेखिएका सवारी साधनको नाममा व्यापक दुरुपयोग भएको गुनासो बढिरहेका कारण यसबारे गम्भीर निर्णय लिनुपरेको महासंघले जनाएको छ । यसका लागि जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी तत्काल छानबिन तथा चेकजाँच कडाइ गर्ने कार्य अघि बढाइने निर्णय समेत गरिएको छ ।

महासंघले यस कदमलाई पत्रकारिताको विश्वसनीयता र शुद्धतासँग जोड्दै सबै सरोकारवालाहरुलाई सहयोग गर्न अनुरोध गरेको छ ।