भदौ २४ यता रोकिएको सरसफाइ कार्य आजदेखि नियमित हुने वडाध्यक्षको भनाइ
रौतहट — चन्द्रपुर नगरपालिकामा गत भदौ २४ गतेदेखि रोकिएको फोहोर उठाउने कार्य आज (बिहीबार)देखि पुनः सुरु भएको छ। लामो समयदेखि नगरक्षेत्रमा थुप्रिएको फोहोरका कारण दुर्गन्ध र वातावरणीय प्रदूषण फैलिन थालेपछि सरोकारवालाहरूले चासो देखाउँदै आएका थिए।
चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रवि रानाका अनुसार, “जेन्जी आन्दोलनका क्रममा नगरपालिकाका सवारी साधनमा क्षति पुगेको कारण फोहोर व्यवस्थापनमा समस्या आएको” हो। आन्दोलनको असरले नगरको दैनिक सेवा प्रभावित भएको उनले बताए।
“अबबाट नगरको फोहोर नियमित रूपमा उठ्नेछ,” वडाध्यक्ष रानाले भने। फोहोर व्यवस्थापन पुनः सुरु भएपछि नगरवासीहरूले केही राहत पाउने आशा गरिएको छ।
नगरपालिकाले क्षतिग्रस्त सवारी साधन मर्मत गरी सेवा पुनः सञ्चालनमा ल्याएको जनाइएको छ। नगरले फोहोर व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउने दिशामा थप योजना बनाइरहेको समेत वडाध्यक्ष रानाले जानकारी दिए।








