चन्द्रपुर,१२ असोज ।
डिभिजन वन कार्यालय रौतहटका कर्मचारीकै मिलेमतोमा खोलाबाट व्यापक रूपमा ढुङ्गा तस्करी भइरहेको छ ।
चन्द्रपुर नगरपालिकाले खोला ठेक्का नलगाएको अवस्थामा वन कर्मचारीकै मिलेमतोमा रौतहटका विभिन्न नदीनालाबाट नदीजन्य वस्तुको व्यापक रुपमा निकासी भइरहेको छ । खोलामा ट्याक्टर जानासाथ वन कर्मचारीहरू पछ्याउँदै जाने र पैसा लिएर मात्र नदीजन्य वस्तु छाडिदिने गरेको एक ट्याक्टर चालकले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिएका छन् ।
पछिल्लो समय चाँदी खोला र हर्दिया खोलाबाट दैनिक सयौँ टक्टरले नदीजन्य वस्तु निकासी गरिरहेको भए पनि डिभिजन वन कार्यालयले पैसा लिएर कानमा तेल हालेर बसेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
वनमा काँचा रुख काटेर तस्करहरुले चार चक्के गाडीमा हालेर लाँदा समेत नदेख्ने वन कर्मचारीहरुले ढुंगा बोक्ने ट्याक्टर भने देख्ने गरेको स्थानीयको भनाइ रहेको छ । उनीहरूले समय र परिस्थितिलाई आँकलन गरेर प्रति ट्याक्टरका हिसाबले सबैलाई मिलाउनुपर्छ भन्दै रकम असुल्ने गरेको जानकारहरूको भनाइ रहेको छ । वन संरक्षणको कुरा गरेर नथाक्ने डिभिजन वन कार्यालय रौतहटका प्रमुखले आफ्नै मातहतका कर्मचारीले पैसा लिएर ट्रेडरमा नदीजन्य वस्तु निकाल्न दिएको विषयमा भने खासै ध्यान नदिएको पाइएको छ । चाँदी र हर्दिया खोलाबाट निकालिएको ढुङ्गाहरू चन्द्रनिगाहपुरका खाली जमिनमा ल्याएर स्टोक गरिने गरिएको छ ।
चन्द्रपुर नगरपालिकाले भने चाँदी खोलाको ठेक्का आज लगाउने तयारी गरिरहेको नगरपालिकाका एक कर्मचारीले जानकारी दिएका छन् । जेन्जी आन्दोलनका बेला डिभिजन वन कार्यालय रौतहटका भवनहरूमा आगलागी भएपछि त्यसकै बहाना बनाउँदै वन कर्मचारीहरु रकम असुल्नेतर्फ रहेको जानकारहरूको भनाइ रहेको छ । वन कर्मचारीहरूले नियमित रूपमा गस्ती नगरेका कारण रौतहटको राष्ट्रिय वनबाट दैनिक जसो काँचा सालका रुखलाई तस्करहरुले जङ्गलमै गोलिया बनाएर चार चक्के गाडीमा लोड गरेर लाने गरेका छन् ।
जङ्गल भित्रै रुख काट्दा कुनै सुईको समेत नपाउने वन कर्मचारीले जङ्गलभित्रै काँचो सालका रुखलाई विभिन्न आकारमा गोलिया बनाएर चार चक्के गाडीमा लोड गरेर लाने बेलामा भने थाहा पाउने गरेका छन् ।
पैसामा बार्गेनिङ नमिलेका कारण काठ लोड गरिएका चार चक्के गाडीहरू वन कार्यालयका कर्मचारीहरुले बरामद गर्ने गरेको विश्वस्त स्रोतको भनाइ रहेको छ । यस्तो कार्यमा वनका तल्लो तहका देखि माथिल्लो तहका कर्मचारीको समेत संलग्नता रहँदै आएको जानकारहरूले बताएका छन् ।