रौतहट, असोज १८ — आगामी केही दिनसम्म रौतहटमा लगातार भारी वर्षाको पूर्वानुमानसँगै जिल्ला प्रशासन कार्यालयले जनसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार असोज २० गतेसम्म मनसुनजन्य विपद् आउन सक्ने जनाउँदै प्रशासनले शुक्रबार सूचना जारी गरेको हो। सूचनामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत बागमतीदेखि धनसार खोला तथा ग्रामीण क्षेत्रका नदीहरूमा जलसतह बढ्ने सम्भावना रहेकाले विशेष सावधानी अपनाउन भनिएको छ।
प्रशासनले सबै स्थानीय तह, रेडक्रस, तथा सरकारी/गैरसरकारी संस्थालाई पूर्वतयारी र प्रतिकार्यमा जुट्न, उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। साथै, जोखिममा रहेका बासिन्दा—बालबालिका, वृद्धवृद्धा र अशक्त नागरिक—लाई सुरक्षित स्थानमा सार्न पनि निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले सम्भावित विपद् न्यूनीकरणका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक भएको बताए। उनले विपद् व्यवस्थापन समितिलाई सक्रिय रहन र जनधनको सुरक्षामा कुनै कमी नहोस भन्नेमा जोड दिएका छन्।








