रौतहट, १८ असोज। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान भएकाले लामो दूरी र काठमाण्डौ उपत्यकाबाट बाहिरिने/प्रवेश गर्ने सवारीसाधनको आवतजावतमा रोक लगाइएको जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार पश्चिम, मध्य र केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेकाले पहिरो, बाढी र डुबान जस्ता जोखिम बढ्ने भन्दै प्राधिकरणले असोज १८, १९ र २० गतेका लागि विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।

सवारीसाधन रोक लगाइएको जानकारी सम्बन्धित जिल्ला प्रशासन कार्यालय, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तहका सुरक्षा निकायमार्फत् सम्प्रेषण गरिएको प्राधिकरणले जनाएको छ। यस अवधिमा अत्यावश्यक बाहेकका लामो दूरीका यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

त्यसैगरी, जोखिमपूर्ण ठाउँतर्फ यात्रा गर्ने सवारी साधन नचलाउन र यात्रु तथा सवारी चालकले अत्यधिक सतर्कता अपनाउन पनि प्राधिकरणले निर्देशन दिएको छ। सुरक्षा निकायलाई सडक आवतजावत पूर्णरूपमा रोक लगाउन तथा निगरानी कडाइ गर्न समेत भनिएको छ।

यस क्रममा रेडियो, टेलिभिजन, अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत् निरन्तर सूचना तथा अद्यावधिक जानकारी प्राप्त गर्न समेत आग्रह गरिएको छ।