रौतहट,२५ असोज ।
रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ परेका छन्।
अख्तियारका अनुसार प्रधानाध्यापक साहलाई शुक्रबार राति आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो। उनले विद्यालयमा आज हुने माध्यमिक तह (द्वितीय) विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा पास गरिदिने भन्दै एक शिक्षकसँग साढे चार लाख रुपैयाँ घुस मागेका थिए।
साहले सो रकम लिँदै गर्दा उनका सहयोगी अरविन्द प्रकाश साह पनि अख्तियारको फन्दामा परेका छन्। अख्तियारले दुवैजनामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।








