रौतहटको गौर नगरपालिका–१ मा खाल्डोमा जमेको पानीमा डुबेर तीनजना बालिकाको ज्यान गएको छ।
राजदेवी नगरपालिका– ८ की १३ वर्षीया आस्था कुमारी बैठा, सोही स्थानकी १५ वर्षीया रागनी कुमारी यादव र मौसमी कुमारी बैठाको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार राजदेवी नगरपालिका– ८ लक्ष्मीपुरबाट घाँस काट्न गौरतर्फ आउँदै गरेका सातजना बालबालिकामध्ये तीनजना बेपत्ता भएका थिए। सोमबार पौने ११ बजेतिर खाल्डोमा जमेको पानी पार गर्ने क्रममा उनीहरु बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बेपत्ता भएको एक घण्टापछि जिल्ला प्रहरी कार्यालयको टोलीले उद्धार गरी तीनैजनालाई प्रादेशिक अस्पताल गौर पुर्याएकोमा अस्पतालले तीनैजनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामकुमार महतोले जानकारी दिए।






