रौतहटको कटहरिया नगरपालिका क्षेत्रमा दुई दिनको अवधिमा दुई किशोरीले आत्महत्या गरेका छन्, जसले स्थानीयवासीहरूलाई स्तब्ध बनाएको छ।
बुधबार दिउँसो करिब सवा २ बजे कटहरिया नगरपालिका–८ बलुवा टोल निवासी रामेश्वर राय यादवकी १८ वर्षीया अविवाहित छोरी रञ्जिता कुमारी यादवले आफ्नै घरको छानामुनि धरैनमा प्लास्टिकको डोरी प्रयोग गरी झुण्डिएर आत्महत्या गरेकी हुन्।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कटहरियाबाट सई धर्मेन्द्र पौडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले उनलाई झुण्डिएको अवस्थामा मृत फेला पारेको पुष्टि गरेको छ।
यसअघि मंगलबार साँझ कटहरिया नगरपालिका–५ निवासी जयमङ्गल पासवानकी १७ वर्षीया छोरी छोटी पासवानले पनि घरभित्र सलको पासो लगाएर आत्महत्या गरेकी थिइन्। घटना हुँदा घरमा अन्य कोही नभएको बताइएको छ।
इलाका प्रहरी कार्यालय कटहरियाका अनुसार दुवै घटनाको कारण खुलेको छैन। आत्महत्याका कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लगातार दुई किशोरीले आत्महत्या गरेको घटनाले स्थानीयहरूमा ठूलो चिन्ता र आशंका उत्पन्न भएको छ।








