रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–६ ठक्कर टोलमा निर्माण गरिएको क्रियापुत्री घर औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। स्थानीयवासी भरत प्रसाद आचार्यले आफ्ना दिवंगत पिता स्वर्गीय विष्णु प्रसाद आचार्य, माता स्व. टककुमारी आचार्य र धर्मपत्नी स्व. दुश्वरी देवी आचार्यको स्मृतिमा क्रियापुत्री घर निर्माण गराएका हुन्।

उनले आफ्ना परिवारका स्वर्गीय सदस्यप्रति सम्मान प्रकट गर्दै समुदायलाई आवश्यक पर्ने संरचनाको रूपमा यो भवन निर्माण गरी हातेमालो सामुदायिक भवन उपभोक्ता समूहलाई हस्तान्तरण गरेका हुन्। समूहका अध्यक्ष रामलाल ठक्करलाई २०७८ माघ ४ गते औपचारिक रूपमा भवन हस्तान्तरण गरिएको हो।

समुदायको आवश्यकताअनुसार दाहसंस्कारपछिको कर्तव्य निर्वाह गर्ने परिवार तथा मानिसहरूलाई सहज बनाउने उद्देश्यले क्रियापुत्री घर निर्माण गरिएको बताइन्छ। स्थानीयस्तरमा सामुदायिक प्रयोजनका लागि बनेको यो संरचना क्षेत्रका बासिन्दाका लागि महत्वपूर्ण सुविधा साबित हुने अपेक्षा गरिएको छ।