साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो पहिलो जित दर्ता गरेको छ। मङ्गलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने गणितीय सम्भावना जोगाएको छ।
एक सय ७७ रनको लक्ष्य पछ्याउँदै जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाएर १८० रन बनायो। जनकपुरका ओपनर माज सदाकत (३० बलमा ६३) र अनिल शाह (३६ बलमा ६१) ले अर्धशतक प्रहार गर्दै जितको आधार बनाएका थिए। अनिल शाह ‘प्लेयर अफ द म्याच’ घोषित भए।
यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन जोडेको थियो। डेविड मलानले ८० तथा अर्जुन साउदले ५२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
आजै दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।







