रौतहट, १६ मंसिर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा सार्वजनिक रकम हिनामिना भएको प्रमाण भेटिएपछि सात कर्मचारी र एक संस्थामाथि विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार मुद्दा दायर गरिएका कर्मचारीहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, सहायक लेखापाल विवेक कुमार सहनी, सहायक पञ्चौँ तहका कर्मचारी राम नरेश प्रसाद यादव, कम्प्युटर अपरेटर उमेश कुमार दास, खरिदार कौशल किशोर चौधरी, छोटेलाल मिश्रलगायत सात जना रहेका छन्।

त्यसैगरी सरिता फाउण्डेसन र संस्थाकी निर्देशक सरिता कुमारी साह विरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार तत्कालीन मेयर सियाराम कुशवाहाको कार्यकालमा आर्थिक वर्ष २०७७/७८ मा नगरसभाले स्वीकृति नदिएको बजेट प्रयोग गरी सरिता फाउण्डेसनका नाममा ५ लाख रुपैयाँको चेक काटिएको थियो। मिलेमतोमा रकम हिनामिना भएको उजुरी परेपछि अख्तियारले छानबीन गरेको हो।

अनुसन्धानबाट अनियमित भुक्तानीका कारण नगरपालिकालाई ९ लाख ९८ हजार ९२१ रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको पुष्टि भएको आयोगको भनाइ छ।

आयोगले सबै अभियुक्तसँग प्रति व्यक्ति सोही बराबरको विगो असुल गर्न माग गर्दै मुद्दा दायर गरेको छ। अब यो प्रकरणको सुनुवाइ विशेष अदालत, काठमाडौंमा हुनेछ।