रौतहट, २६ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान कार र ट्रक एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। करिब बिहान ८ बजे बागमती प्रदेश ३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार ओभरटेक गर्ने क्रममा आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दुर्घटनामा बाराको निजगढ–३ निवासी ७९ वर्षीय भक्त बहादुर खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पुष्टि गरेको छ। गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि सिभिल हस्पिटल चन्द्रनिगापुर लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनीलाई मृत घोषित गरेका थिए।

सोही दुर्घटनामा कार चालक बाराको निजगढ निवासी अन्दाजी २७ वर्षीय दिनेश थपलिया तथा रौतहट चन्द्रपुर–६ निवासी २० वर्षीय डोरमणि सापकोटा घाइते भएका छन्। दुबै जनाको सिभिल हस्पिटल चन्द्रनिगापुरमै उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिनुभयो।

दुर्घटनामा संलग्न ट्रक चालक, मकवानपुर हेटौडा उपमहानगर–७ निवासी ५३ वर्षीय श्यामबहादुर तितुडलाई इलाका प्रहरी कार्यालय चपुरले नियन्त्रणमा लिएको छ।

घटना स्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटबाट करिब ३ किलोमिटर पश्चिम पर्ने बताइएको छ। प्रहरी निरीक्षक थापा मगरको नेतृत्वमा ट्राफिक प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।