अशोक पहाडी
रौतहट — आज बिहानैदेखि सुरु भएको बाक्लो हुसो र शीतलहरीका कारण रौतहटसहित मधेश प्रदेशको जनजीवन प्रभावित भएको छ। अत्यधिक चिसो, कुहिरो र शीतलहरीका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ भने यातायात र दैनिक गतिविधिमा समेत असर परेको छ।

बिहानैबाट आकाश ढाकिने गरी लागेको बाक्लो हुस्सोका कारण दृश्यता अत्यन्तै कम हुँदा मानिसहरू घरबाट बाहिर निस्कन सकेका छैनन्। चिसो बढेसँगै वृद्धवृद्धा, बालबालिका तथा बिरामीहरू बढी प्रभावित भएका छन्। चिसो हावा र शीतलहरीका कारण सर्वसाधारणले आगो तापेर समय बिताउनुपर्ने अवस्था देखिएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको विभिन्न खण्डमा बाक्लो कुहिरोका कारण सवारी आवागमन समेत प्रभावित बनेको छ। कुहिरोका कारण सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै चालकहरू सतर्क भएर सवारी साधन चलाउन बाध्य भएका छन्।

शीतलहरी र बाक्लो हुसोले विशेषगरी दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका निम्न आय वर्गका नागरिकको जीवन थप कठिन बनेको छ। चिसोका कारण काममा निस्कन नसक्दा उनीहरूको आम्दानी प्रत्यक्ष रूपमा प्रभावित भएको छ।

चन्द्रपुर नगरपालिका–५ का स्थानीय बासिन्दा हरिनारायण महतोले चिसोका कारण मजदुरी गर्न जान निकै समस्या भएको बताए । “बिहानैबाट यति धेरै चिसो भयो काममा जान सकिँदैन, काम नगर्दा घरखर्च चलाउनै गाह्रो हुने बताए ।

चिसोबाट जोगिन सर्वसाधारणलाई न्यानो लुगा लगाउन, आगो तथा ताप साधन सुरक्षित रूपमा प्रयोग गर्न र अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरिएको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले बताए ।

स्थानीय तह र सरोकारवाला निकायहरूले शीतलहरीबाट बढी प्रभावित गरिब, असहाय र वृद्धवृद्धाका लागि आवश्यक सहयोग र राहतको व्यवस्था गर्नुपर्ने माग समेत उठ्न थालेको छ।