चन्द्रनिगाहपुर — नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखाका कर्मचारीहरूको लापरबाहीका कारण सर्वसाधारण समस्या भोग्नुपरेको स्थानीयले गुनासो गरेका छन्। लाइन जोड्ने, बिग्रिएको लाइन मर्मत गर्ने तथा अन्य प्राविधिक सेवाका लागि पटक–पटक बोलाउँदा पनि कर्मचारी नआउने गरेको उनीहरूको आरोप छ।

स्थानीयका अनुसार शुक्रबार दिनभरि प्राधिकरणको सरकारी गाडी चन्द्रनिगाहपुरस्थित डाबरी पार्कमा राखेर केही विद्युत कर्मचारीहरू मस्ती गरिरहेको प्रत्यक्ष देखिएको छ। ‘घरमा बत्ती नहुँदा फोन गर्दा नआउने, तर सरकारी गाडी लिएर पार्कमा बसेको देख्दा दुःख लाग्यो,’ एक स्थानीयले भने।

स्थानीयवासीहरूले कार्यालयका प्रमुख समेत नियमित रूपमा कार्यालयमा नभेटिने गरेको बताएका छन्। यसका कारण सेवाग्राहीले सामान्य कामका लागि पनि लामो समय कुर्नु पर्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।

विद्युत आपूर्ति अवरुद्ध हुँदा दैनिक जीवन, व्यापार–व्यवसाय तथा विद्यार्थीको पठनपाठनसमेत प्रभावित हुने गरेको स्थानीयको गुनासो छ। उनीहरूले सम्बन्धित निकायले तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न र सेवाप्रवाह प्रभावकारी बनाउन माग गरेका छन्।

यस विषयमा नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखाका कार्यालय प्रमुख तथा जिम्मेवार कर्मचारीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। प्रतिक्रिया प्राप्त भएमा समावेश गरिनेछ।