चन्द्रनिगाहपुर ४ पुस । रौतहट सहित तराई–मधेशका अधिकांश जिल्लामा आज बिहानैदेखि बाक्लो हुसु र शीतलहरी सुरु भएको छ। हुसुका कारण भिजिबिलिटी अत्यन्तै कम हुँदा दैनिक जनजीवन प्रभावित भएको छ भने अत्यधिक चिसोले सर्वसाधारणलाई कष्टकर अवस्था सिर्जना गरेको छ।
रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीलगायत जिल्लामा बिहानैदेखि आकाश ढाकिने गरी बाक्लो हुसु लागेको छ। शीतलहरीसँगै चिसो हावा चलेपछि बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू बढी प्रभावित भएका छन्। चिसोका कारण विद्यालय जाने विद्यार्थी, मजदुर तथा बिहानै कामकाजमा निस्कने सर्वसाधारण घरमै बस्न बाध्य भएका छन्।
हुसुका कारण पूर्व–पश्चिम राजमार्ग तथा अन्य मुख्य सडक खण्डमा सवारी साधनहरू दिउँसै बत्ती बालेर चलाउनुपर्ने अवस्था आएको छ। लामो दूरीका सवारी साधनको गति घटाइएको छ भने केही स्थानमा यातायात आंशिक रूपमा प्रभावित भएको छ।
मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशका अधिकांश भू–भागमा चिसो बढेको हो। पहाडी र हिमाली जिल्लामा बिहान र बेलुकीको समयमा चिसो बढी महसुस गरिएको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना कायमै रहेको छ।
आज देशभर मौसम सामान्यतया बदलीदेखि आंशिक बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्रमा हुसु र कुहिरो दिनभर आंशिक रूपमा रहने सम्भावना छ भने पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ।
स्वास्थ्यकर्मीहरूले अत्यधिक चिसोबाट बच्न न्यानो कपडा प्रयोग गर्न, आगो ताप्दा सावधानी अपनाउन र बालबालिका तथा वृद्धवृद्धालाई विशेष ध्यान दिन आग्रह गरेका छन्। साथै हुसुका बेला सवारी चलाउँदा उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।








