रुपेन्द्र पटेल
रौतहट,२१ पुस । रौतहटको बौधीमाई नगरपालिका–१ भुवाली चौक नजिक विद्युतीय गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पिपरियाबाट अजगैबि जाने भित्री सडक खण्डमा सोमबार बिहान करिब पौने ९ बजेको समयमा बा.प्र. ०३–००१ ज ७६६ नम्बरको विद्युतीय गाडीले अनटेस्ट प्लेटिना मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक बौधीमाई नगरपालिका–२ इनर्वा बस्ने २३ वर्षीय दीपेन्द्र बैठा गम्भीर घाइते भएको थियो ।
घाइते बैठालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा उपचारकै क्रममा बिहान सवा १० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव सोही अस्पतालमा राखिएको छ ।
दुर्घटनामा संलग्न विद्युतीय गाडी, मोटरसाइकल तथा विद्युतीय गाडी चालक राजपुर नगरपालिका–५ बस्ने २५ वर्षीय उपेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोप्वापिपरियाबाट प्रहरी टोली खटिएको थियो भने जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक रुद्रराज कंडेलको कमाण्डमा थप टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल इलाका प्रहरी कार्यालय कोप्वापिपरियाबाट करिब तीन किलोमिटर दक्षिण रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।