usa - 1

वीरगन्ज, २१ पुस ।
धनुषामा भएको मस्जिद तोडफोडको घटनाविरुद्ध चर्किएको विरोध प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाको संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
प्रशासनले सोमबार दिउँसो १ बजेदेखि लागू हुने गरी बसपार्कको पूर्वी क्षेत्र, सिर्सिया पुलको पश्चिम क्षेत्र, पावर हाउस चोकको उत्तर तथा शंकराचार्य गेटको दक्षिण क्षेत्रमा भेला, सभा, जुलुस र प्रदर्शन पूर्ण रूपमा निषेध गरेको छ।
विरोध–प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएपछि स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ। आदेश उल्लङ्घन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
धनुषाको धनुकमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा तोडफोड तथा पवित्र ग्रन्थ कुरान जलाइएको घटना सार्वजनिक भएपछि वीरगन्जसहित आसपासका क्षेत्रमा तनाव बढेको छ।